काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै शुल्क बढाउनु व्यवसायी र नेपाली श्रमिकका लागि गम्भीर र अकल्पनीय कदम रहेको जनाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पूर्ववर्ती निर्णयअनुसार यहि मंसिर १० गतेदेखि लागु हुनेगरी स्वास्थ्य व्यवसायीहरुले स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याएका छन् ।
यसको विरोधमा विज्ञप्ती जारी गर्दै संघले श्रमिकको काँधमा अनावश्यक आर्थिक बोझ थोपर्ने र वैदेशिक रोजगारीका प्रमुख सर्जक तथा मध्यस्थकर्तालाई बेवास्ता गर्दै शुल्क वृद्धि गरिएको भनेर विरोध गरेको छ । संघका महासचिव महेशकुमार बस्नेतले जारी गरेको विज्ञप्तिमा श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तथा अभिमुखीकरण शुल्क वृद्धि सम्बन्धमा संघसँग कुनै छलफल, सूचना वा समन्वय नभएको उल्लेख गरिएको छ । वर्तमान अवस्थामा श्रम मन्त्रालय मन्त्रीविहीन अवस्थामा रहेको र प्रधानमन्त्रीकै मातहतमा श्रम मन्त्रालय रहेकै समयमा अवैज्ञानिक तरिकाले श्रमिकमाथि आर्थिक बोझ बढाउने नीतिगत निर्णय कार्यान्वयन गरिएको भन्दै त्यसले सुशासन, पारदर्शिता र उत्तरदायित्व विरुद्ध प्रत्यक्ष आक्रमण भएको संघको भनाइ छ ।
वैदेशिक रोजगारी क्षेत्र देशको आर्थिक मेरुदण्ड रहेको बताउँदै संघले यस क्षेत्रमा सुधार चाहिए संघको संस्थागत आवाज सम्बन्धित निकायले सुन्नुपर्ने र विकृतिलाई संरक्षण दिन नहुने विज्ञप्तिमा छ । संघले अनावश्यक शीर्षकमा परीक्षण थोपर्नु पूर्णरूपमा अन्यायपूर्ण र अव्यावहारिक निर्णय भएको जनाएको छ । परीक्षण गन्तव्य मुलुकका लागि अनिवार्य नगरिएको अवस्थामा नै त्यस्ता परीक्षण थपेर श्रमिकका लागि आर्थिक बोझ थप्ने काम भएको जनाएको छ ।
विदेशमा ‘मेडिकल अनफिट’ भई नेपाल फर्कनुपर्ने भए ठूलो आर्थिक नोक्सानी हुने र कामदारलाई क्षतिपूर्ति दिनुपर्ने र रोजगारदाता कम्पनीले समेत आर्थिक क्षतिको जिम्मेवार वैदेशिक रोजगारमा पठाउने संस्थाहरुलाई नै बनाइरहेको संघको भनाई छ । श्रमिक स्वास्थ्य परीक्षणमा असफल भई फर्किनु पर्दा उपलव्ध गराउनु पर्ने आर्थिक क्षतिको जिम्मेवारी समेत स्पष्ट नबनाई श्रमिकलाई थप परीक्षणका नाममा शुल्क बढाउनु सर्वोपरी हित, न्यायसंगत र समय अनुकूल नभएको संघले जनाएको छ ।
