काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन अझ धेरै काम गर्न जरुरी रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनले यो कार्यक्रम श्रमिकका लागि महत्वपूर्ण रहेपनि यसलाई अझै पनि आम श्रमिकका बीचमा पुर्याउन नसकिएको धारणा राखे ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले सामाजिक सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पोखरेलले समाजमा देखिएको असन्तुष्टि सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु पनि कारण रहेको भन्दै भविष्यप्रतिको सुरक्षा बोध नागरिकमा जगाउन सक्ने हो हो आफ्नो सामाजिक साँस्कृति मूल्य मान्यता प्रति नै अहिले देखिएको अनास्थालाई कम गर्न सकिने धारणा राखे । महासचिव पोखरेलले भने, “कुनै पनि समाजलाई अगाडी बढाउन मान्छेले भविष्यप्रतिको सुरक्षाको प्रत्याभूति खोज्छ । यस्तो कुराले अपराध पनि घट्छ । भविष्य प्रतिको सुरक्षा भयो भने अनियमितताको विषय पनि हराएर जान्छ । त्यसैले योगदानमा आधारित सामाजिक सुरक्षा महत्वपूर्ण कार्यक्रम हो ।”
उनले यस कार्यक्रममा पालिकाहरुलाई पनि संलग्न गराउन नगरपालिका महासंघ र गाउँपालिका महासंघलाई पनि पहलकर्ताको रुपमा यसमा संलग्न गराउन जरुरी रहेको बताए । कार्यविधिमा केहि सुधार गर्नुपर्नेछ भनें गर्नु पर्दछ, त्यसका लागि सामाजिक सुरक्षा कोषले छलफल आयोजना गर्नुपर्दछ नेकपा एमालेका महासचिव पोखरेलले भने देशैभरीका पालिकाका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरी अप्ठ्यारो परेको कुरा फुकाएर जान जरुरी छ ।
विसं २०७५ सालमा औपचारिक रुपमा सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम नेपाल सरकारको एउटा महत्वपूर्ण कार्यक्रमका रुपमा स्थापित भएको भन्दै एमाले महासचिव पोखरेलले सरकारी सेवामा आवद्ध कर्मचारीहरुले मात्र पेन्सन पाउँदै आएको अवस्थामा यस कार्यक्रमले सवै श्रमिकलाई पेन्सन पाउने अवस्था निर्माण भएको बताए ।
कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनीता लामा, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख लगायतले आफ्नो विचार राखेका थिए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले आठौं स्थापना दिवस मनाईरहँदा यसमा २६ लाख भन्दा बढी श्रमिक आवद्ध भएका छन् । कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदान रकम सङ्कलन भइसकेको छ ।
सामाजिक सुरक्षा कोषका अनुसार मंसिर १० गतेसम्ममा कोषमा योगदानकर्ताको रुपमा २६ लाख ४७ हजार ४ सय ७१ श्रमिक सुचिकृत छन् । सुचिकृत मध्ये सवैभन्दा धेरै वैदेशिक रोजगारमा गएकाहरुको रहेको छ । कोषका अनुसार वैदेशिक रोजगारीमा रहेकाहरु १९ लाख ९६ हजार ५ सय ७९ जना आवद्ध भएका छन् । यसैगरी कोषमा औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५ सय ११ जना, अनौपचारिक क्षेत्रका ७ सय ९९ जना र स्वरोजगार क्षेत्रका ५ सय ८२ श्रमिक योगदानकर्ताको रुपमा सूचिकृत छन् ।
यो पनि पढ्नुहोस् योगदानमा आधारित सामाजिक सुरक्षाका ७ बर्षः २६ लाख श्रमिक सूचिकृत, योगदान खर्व नजिक
