काठमाडौैं । असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने नाराका साथ २०७५ मंसिर ११ गते सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले आठौं स्थापना दिवस मनाईरहँदा यसमा २६ लाख भन्दा बढी श्रमिक आवद्ध भएका छन् । कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदान रकम सङ्कलन भइसकेको छ ।
सामाजिक सुरक्षा कोषका अनुसार मंसिर १० गतेसम्ममा कोषमा योगदानकर्ताको रुपमा २६ लाख ४७ हजार ४ सय ७१ श्रमिक सुचिकृत छन् । सुचिकृत मध्ये सवैभन्दा धेरै वैदेशिक रोजगारमा गएकाहरुको रहेको छ । कोषका अनुसार वैदेशिक रोजगारीमा रहेकाहरु १९ लाख ९६ हजार ५ सय ७९ जना आवद्ध भएका छन् । वैदेशिक रोजगारमा जानेहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध अनिवार्य बनाइएपछि यति धेरै संख्यामा आवद्ध भएपनि उनीहरुको योगदान निरन्तरता भनें अत्यन्त न्यून्त छ ।
यसैगरी कोषमा औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५ सय ११ जना, अनौपचारिक क्षेत्रका ७ सय ९९ जना र स्वरोजगार क्षेत्रका ५ सय ८२ श्रमिक योगदानकर्ताको रुपमा सूचिकृत छन् ।
नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले तत्कालिन सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको औपचारिक सुरुवात गरेको थियो । नयाँ युगको सुरुवात भन्दै बहुप्रचारित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन तत्कालिन श्रममन्त्री गोकर्ण विष्टले निक्कै मेहनत गरेका थिए । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई नियुक्त गरेपछि यो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउने तर्फ श्रम मन्त्रालयले पनि खासै ध्यान दिएन । यहिबीचमा बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुले कोषमा आवद्ध नहुने भन्दै अदालतमा मुद्धा दायर गरेपछि यो कार्यक्रम अझ अलमलमा पर्यो ।
अपेक्षाकृत रुपमा अगाडी नबढेपनि ७ बर्षको महेनत पश्चात कोषमा मंसिर १० गतेसम्ममा २२ हजार ३ सय ३२ रोजगारदाता सूचिकृत भएका छन् । कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । यी योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा तथा सहुलियत प्राप्त गर्दै आइरहेका छन् । ति सुविधा अन्तर्गत हालसम्म दुई लाख ५३ हजार एक सय ४३ श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिइसकेको कोषले जनाएको छ । कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाका अतिरिक्त बचतको ब्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विशेष समारोह आयोजना गरिँदै छ । यसैगरी नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले पनि ज्यापू महागुथी, ललितपुरमा कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।
