
काठमाडौं, कात्तिक २०-
वैदेशिक रोजगार विभागले मलेसियाको रोजगारीमा पठाउने नाममा श्रमिकलाई ठगि भइरहेको निश्कर्ष सहित त्यसमा सजग हुन अपिल गरेको छ । मलेसियाको रोजगारीमा पठाउन भन्दै १ लाख भन्दा धेरै व्यक्तिको मेडिकल जाँच(बायोमेट्रीक) र ईमिग्रेसन सेक्यूरिटी क्लीयरेन्स(जिएसजी) गराएर दलालले रकम उठाएको निश्कर्षमा विभाग पुगेको हो ।
विभागका अनुसार हालसम्म ताहाचल कार्यालयबाट करिव १ हजार ८ सय कामदारहरुको मात्र पूर्व स्वीकृति लिएको तर मेडिकल र जिएसजीका नाममा ठूलो रकम उठाइसकेको अनौपचारिक जानकारी प्राप्त भएको भन्दै त्यसरी ठगिमा पर्नबाट जोगिन आग्रह गरेको हो ।
विभागले एक सुचना प्रकाशित गर्दै पूर्व स्वीकृति बमोजिम विज्ञापन गरी छनौट प्रकृया पूरा नगरेका कामदारहरुको स्वास्थ्य परिक्षण लगायतका काम नगर्न र यसअघि गरिसकिएको भएमा रकम सम्वन्धित कामदारलाई फिर्ता गर्न अ ाग्रह गरेको छ ।
विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले कुन कम्पनीमा जाने, कसले पठाउने, छनोट हुने हो कि होइन भन्ने टुङ्गो नै नभई मेडिकल र जिएसजी गराउने भन्दै दलालले झुक्याएर धेरै सोझा नेपालीसँग करोडौं उठाएको अनौपचारिक जानकारी प्राप्त भएको बताए । उनले आफू अन्तर्वार्ताबाट छानिएको निश्चित भएपछि मात्रै मलेसिया जाने प्रयोजनका लागि मेडिकल र सेक्युरिटी क्लियरेन्स गराउन सवैलाई आग्रह पनि गरे ।