काठमाडौं, असोज २८-
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभक्ति र मातृभूमि प्रतिको माया भौगोलिक सीमाभित्र मात्र हुने कुरा नभएको बताएकी छन् । उनले विश्वको जुनसुकै कुनामा पुगेपनि एउटा नेपाली सधैंको लागि नेपाली हुने भन्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप र साधन मुलुकको विकासका लागि खर्च गर्नुपर्ने बताइन् ।
राजधानीमा सुरु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनको उद ्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासमा गैर आवासीय नेपालीको भूमिका उच्च हुने धारणा राखिन् । राष्ट्रपति भण्डारीले वर्तमान सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, दक्षताको सदुपयोग गर्न ब्रेन गेनको अवधारणा अगाडी सारेको भन्दै त्यसमा योगदान गर्न आग्रह पनि गरिन् ।
राष्ट्रपति भण्डारीले स्थापनाको डेढ दशकमा गैर आवासीय नेपाली संघले मुलुकको विकास तथा विपद्को समयमा गरेको मद्धतको प्रशंसा गरिन् । उनले नेपालको पूर्वाधार विकास, शैक्षिक उन्नयनमा गैर आपासीय नेपालीले ठूलो योगदान गरिरहेको भन्दै यसको निरन्तरताका लागि आग्रह पनि गरिन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैर आपासीय नेपालीलाई सुख, दुःखको साथि भएको बताए । उनले नेपालमा विपद् पर्दा सदैव स्वतः स्फूर्त रुपमा विदेशमा रहेका नेपालीले सहयोग गरेको बताए । मन्त्री ज्ञवालीले नेपाल हाल विकासपथमा आग्रसर भइरहेको भन्दै त्यसमा दरिलो हातेमालोका लागि आग्रह पनि गरे ।
मन्त्री ज्ञवालीले नागरिकता ऐन तथा गैर आवासीय नेपाली ऐनमा परिमार्जनको प्रकृया आरम्भ भइसकेको जानकारी गराउँदै छिट्टै गैर आवासीय नेपालीले उठाउँदै आएको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने बाटो खुल्ला हुने बताए ।
उद्घाटन समारोहको अध्यक्षका रुपमा बोल्दै पर्यटन मन्त्री ज्ञवालीले नेपालमा रोजगारीका अवसरहरु वृद्धि हुँदै गएको, आयातलाई घटाउँदै निर्यातलाई वृद्धि गरिएको र नेपालको आर्थिक वृद्धिदर पनि सन्तोषजनक हुँदै गएको बताए । उनले विश्वका ८० भन्दा धेरै मुलुकमा संस्थागत रुपमा संगठित तथा १ सय ८ मुलुकमा कार्यरत हरेक नेपाली नेपालका सद्भावना दूत भएका कारण सरकारले अगाडी सारेको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा जुट्न पनि आग्ह गरे ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्ट, निवर्तमान अध्यक्ष, शेष घले, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पनि मन्तव्य राखेका थिए ।
यो पनि पढ्नुहोस् खाडीका गैर आवासीय नेपालीः भोट मात्रै हाल्ने कि नेता पनि बनाउने ?
