सुनिल न्यौपाने, काठमाडौं, असोज २८-
आजदेखि गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलन सुरु हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने भएका कारण यसपटकको सम्मेलनको महत्व विशेष छ । विश्वभरी छरिएर रहेका नेपालीहरुको छाता संगठन एनआरएनएलाई दुई बर्षका लागि कुन गति दिने भन्ने कुरा पनि एक हदसम्म यो सम्मेलनले निर्धारण गर्नेछ ।
सम्मेलन सुरु हुँदै गर्दा स्पष्ट रुपमा दुई प्यानल चुनावी मैदानमा देखिएका छन् । पूर्व अध्यक्षहरुको चेतावनीका वावजूद कुमार पन्त र कुल आचार्य राजनीतिक रंग सहित चुनावी मैदानमा होमिइसकेका छन् । पन्त नेकपा निकटका हुन् भनें आचार्य नेपाली काँग्रेस निकट । त्यसैले यो चुनावमा पनि एक हदसम्म नेकपा र नेपाली काँग्रेसको प्रतिष्ठाको रुपमा अगाडी बढेको छ जुन स्वयं एनआरएनएको भविष्यका लागि चाहिं सुखद संकेत होइन ।
चुनावी सम्मेलन सवैका लागि आआफ्नै ढंगबाट महत्वको छ । कसैका लागि यो दुई वर्षका लागि पद प्राप्त गर्ने अवसर हो । कसैका लागि नेता निकट हुने अवसर र कतिपयका लागि कमाउ समय पनि । तर योसँगै यसपटक एनआरएनएको नवौं विश्व सम्मेलन खाडी, मध्यपूर्व, मलेसियाका गैर आवासीय नेपालीका लागि अझ विशेष छ ।
हुन त सिमित अवधिका लागि रोजगारी गर्न खाडीका मुलुकहरु र मलेसिया गएका नेपालीलाई गैर आवासिय नेपाली मान्ने कि नमान्ने भन्ने बहस सुरु देखि नै हुँदै आएको हो । ति नेपाली न आफ्नो मुलुकको नागरिकता त्यागेका व्यक्ति हुन् न त उनीहरु सदैव मुलुक बाहिर रहन्छन् । यति हुँदा हुँदै पनि सम्भवतः सदस्य संख्या वृद्धिका लागि एनआरएनए नेतृत्वले खाडी र मलेसियामा कार्यरत नेपालीका लागि पनि आफ्नो संस्थाको सदस्यता दियो र उनीहरु पनि गैर आवासीय नेपाली भए । तर दुःखका साथ भन्नु पर्दछ खाडी र मलेसियामा कार्यरत ति नेपाली एनआरएनए भित्र दोश्रो दर्जा तिरका सदस्यका रुपमा देखा परे । उनीहरुले उत्तिकैै फूर्तिका साथ एनआरएनएको झण्डा बोकेको वा बोक्न पाएको अनुभव गर्न पाइएन । यो कुरा यस पटकको विश्व सम्मेलनमा पनि देखिने छाँट छ ।
डीवि क्षेत्री खाडी मुलुकमा मात्र होइन स्वयं एनआरएनए भित्र एउटा दृष्टिकोण सहितको नाम हो । उनले नै अगाडी बढाएको हजारे अभियान स्वयंमा परदेशमा काम गर्ने एउटा नेपाली र स्वयं नेपालका लागि गतिलो दृष्टिकोण हो । यसैगरी खाडी मुुलुकमा एनआरएनएको छविलाई उच्च बनाउन उनको भूमिकालाई कम भन्न मिल्दैन । श्रम गर्न गएको एउटा नेपालीले एउटा विश्वव्यापी संस्थालाई सकृय बनाउन उनले खेलेको भूमिकालाई सम्भवतः हालको एनआरएनए नेतृत्वले मूल्याङ्कन गर्छ नै होला । क्षेत्री संस्थाको महासचिवको आकाँक्षी हुन् ।
खाडीका मुलुकमा रोजगारी दिने हैसियत बनाएको नेपाली भन्ने वित्तिकै सुरुमै एउटा आशंका जन्मिन्छ कतै उ श्रमिकमारा रोजगारदाता त होइन ? कतिपयले त नेपालबाट श्रमिक लगेर अन्य कम्पनीलाई भाडामा ति श्रमिक उपलव्ध गराउँदै कमिसन खाने खेलो पनि चलाउँछन् र आफूलाई व्यवसायीका रुपमा चित्रित गर्दछन् । यसपटक कतारबाट आरके शर्मा सचिवका आकाँक्षी देखिएका छन् जसको काममा पनि हालसम्म खोट नदेखिएको स्वयं कतारमै कार्यरत अन्य नेपाल बताउँछन् । परेको बेलामा सरसहयोग गर्ने शर्मा एनआरएनएको कार्यसमितिमा महत्वपूर्ण पदमा पुग्ने बाटो स्वयं खाडीका मुलुकहरुमा कार्यरत अन्य प्रतिनिधि गैर आवासीय नेपालीको भूमिकाले नै तय गर्नेछ । यदि खाडीका गैर आवासीय नेपाली मात्र एक ठाउँमा उभिए भनें खाडी क्षेत्रले यो अवसर प्राप्त गर्न सक्दछ ।
कुल आचार्यको प्यानलबाट कतारमा कार्यरत नरेन्द्र भाट भनें उपाध्यक्षमा उम्मेदवारी तय भइसकेका व्यक्ति हुन् । उनी पनि कतारमा विवादमा नपरेका व्यक्ति हुन् ।
निश्कर्षमा खाडी तथा मलेसियामा कार्यरत गैर आवासीय नेपालीले अव हामी पनि युरोप, अमेरिकी क्षेत्रका गैर आवासीय नेपाली सरह हैसियत राख्ने हौं भन्ने ठान्छन् भनें आफ्नो हिस्सेदारी खोज्ने बेला भएको छ । उनीहरु एकतावद्ध भएनन् भनें मध्यपूर्व संयोजक, सहसंयोजक जस्ता छुट्याइएका पदमै चित्त बुझाउनु पर्नेछ ।
यसअघिका चुनावमा काठमाडौं बसाईका केहि दिन होटलमा भोज चलाउने केहि पैसावाल गैर आवासीय नेपाली उम्मेदवारको रईस पाहुन बन्ने र कर्मभूमि फर्केपछि हामी हेपियौं भनेर गुनासो गर्ने गरिएको देखिएको छ । कमसे कम यसपटक त्यसो नहोस् ।

