क्वालालम्पुर, असोज १६-
विदेशी श्रमिकलाई बाध्यकारी श्रममा संलग्न गराएको अभियोग लगाउँदै अमेरिकाले मलेशियाको डव्लुआरपी कम्पनीको ग्लोव आयातमा बन्देज लगाएको छ । सो कम्पनी विश्वकै ठूलो ग्लोव उत्पादक कम्पनी मध्ये एक हो ।
मलेशियाली सञ्चार माध्यमहरुका अनुसार अमेरिकी भन्सार तथा सीमा सुरक्षा(सीबीपी) ले डव्लुआरपीद्धारा उत्पादित ग्लोवमा बन्देज लगाएको हो । सो कम्पनीमा कार्यरत कामदारहरु तीन महिना अगाडी तलव नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए । त्यसरी आन्दोलनमा उत्रिनेहरुमा नेपालीको समेत ठूलो संख्या थियो । सो कम्पनीमा तीनदिनसम्म हड्ताल भएपछि किस्तावन्दीमा तलव दिने शर्तमा कम्पनीको काम सुचारु भएको थियो ।
सो प्रकरणको अनुसन्धान गर्न मलेशियाको मानव संशाधन मन्त्रालय अन्तर्गतको श्रम विभागले एक कमिटी नै बनाएको थियो । तर मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेशियाको उद्योगलाई तहसनहस बनाउन काल्पनीक रुपमा घटनालाई प्रचारवाजी गरिएको भन्दै उद्योगको बचाउ गरेका थिए ।
यो पनि पढ्नुहोस् मलेशियाबाट फर्किंदै नेपाली
सीबीपीले सो कम्पनीमा श्रमिकलाई बाध्यकारी श्रममा लगाएको आरोप लगाएको छ । अमेरिकी कानून अनुसार कुनै पनि कामदारलाई शोषण गरी उत्पादित सामान आयात गर्न बन्देज छ । सोही कानून बमोजिम अमेरिकाले सो बन्देज लगाएको हो ।
बेलायती सञ्चार माध्यम गार्जियनले झण्डै चार महिना अगाडी सो कम्पनीले कामदारको श्रम शोषण गरेको र उनीहरुलाई बाध्यकारी श्रममा लगाएको भन्दै लगातार समाचार प्रकाशन प्रशारण गरेको थियो ।
यस बारेमा डव्लुआरपी कम्पनीले भनें कुनै प्रतिकृया जनाउन नचाहेको मलेशियाली सञ्चार माध्यमहरुले जनाएका छन् । सो कम्पनीमा २ हजार विदेशी कामदार काम गर्छन् । यो पनि पढ्नुहोस् कतारका नयाँ राजदूतलाई अवसरः कस्तो बन्ने, कसको बन्ने ?
(तस्वीरः तीन महिना अगाडी डव्लुआरपी कम्पनीमा भएको श्रमिकको हड्ताल)
