
काठमाडौं, असोज १०-
रोजगारी प्राथमिक विषय होे । अझ स्वदेशमा नै रोजगारी आजको आवश्यकता हो । यसका लागि उद्योगधन्दाहरु थपिनु र सेवामुलक कार्यमा लगानी बढ्नु आवश्यक छ । तर त्यसका लागि अहिले पनि आवश्यकता अनुसार काम गरिएको छैन ।
वर्तमान सरकारले स्वदेशमा नै रोजगारीको अवसर वृद्धि गर्ने भनिरहेतापनि नतिजामा त्यो देखिन्न । त्यसैले मलेसियाको रोजगारी १५ महिनापछि खुलेको समाचार अहिले पनि धेरै नेपालीका लागि खुशीको विषय बन्यो, जुन दुःखद कुरा हो ।
स्वदेशमा नै रोजगारीका अवसर वृद्धि होउन् । काम गर्ने उमेरका नेपालीले आफ्नै ठाउँमा रहेर आफ्नो श्रम, सीप, बल वर्कत लगाउने अवसर पाउन् । हाम्रो अपेक्षा यहि हो ।
वैदेशिक रोजगारी मुलुकको विकासको मुख्य साधन होइन न त यसले रोजगारीको मागलाई दिर्घकालिन रुपमा धान्दछ । त्यसैले आन्तरिक बजारमा नै रोजगारीको अवसर जति छिटो वृद्धि हुन्छ, नेपाल र नेपालीका लागि उति नै लाभ हुनेछ ।
यसवीचमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्यो । तर सो कार्यक्रम मार्फत सिमित समयका लागि मात्र तथा दिगो नहुने प्रकृतिको मात्र रोजगारीको अवसर सिर्जना भएको छ । त्यसैले यस वर्ष सो कार्यक्रममा परिमार्जन सहित दिगो रोजगारीको विकल्प सहित सो कार्यक्रम अगाडी बढाइएमा यसले सरकारको अपेक्षा त पुरा हुने छ नै आम नागरिकले रोजगारी नै नपाएर विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
अर्कातर्फ वैदेशिक रोजगारको क्षेत्रमा समस्याको चाङ छ । रोजगारीका लागि जाने योजना बनाएदेखि नै ठगिन सुरु हुने एउटा नेपाली गन्तव्य मुलुकबाट फर्किने समयसम्म पनि ठगिइरहनु दिर्घरोग जस्तै भइसकेको छ । तर सधैं यस्तै भइरहनु हुनुहुन्न । बैदेशिक रोजगारका नाममा मान्छे ठग्नेहरुका विरुद्धमा बोल्नेहरु हुनै पर्दछ । पैसाको आडमा ठगिको बलियो संयन्त्र चलाइरहेकाहरुको कर्तुत सार्वजनिक गर्दै त्यसलाई निरुत्साहित गर्नै पर्दछ । विदेशमा अलपत्र परेकाहरुलाई कम से कम सुरक्षित रुपमा घर फर्किने वातावरण बनाउन मद्धत गर्नु पर्दछ । अनी बैदेशिक रोजगारका कारण सिर्जित अन्य समस्याहरुका बारेमा पर्याप्त छलफल गर्दै समस्या निराकरणको प्रयासमा ईंट्टा थप्न जरुरी छ ।
यहि उद्धेश्य राखेर सुरु गरिएको देशपरदेश डटकमले आज ५ बर्ष पुरा गरी ६ बर्षको यात्रा सुरु गरेको छ । २०७१ असोज १० गते १० बजे हामीले देशपरदेश सुरु गरेका हौं । विभिन्न क्षेत्रका सयौं हाम्रा शुभेच्छुकहरुले सामाजिक सञ्जाल मार्फत एकैपटक यसको सुरुवातको घोषणा गर्नुभएको थियो जसलाई हामीले हाम्रो यात्रा प्रारम्भको जानकारी बनायौं । र, हामी हाम्रो यात्रामा कत्तिपनि विचलित नभई निरन्तर अगाडी बढीरहेका छौं । यो यात्रा अझै निरन्तर रहनेछ । श्रमिकपक्षिय पत्रकारिता हाम्रो पहिचान हो । तपाईको विश्वास र सद्भावका लागि आभारी छौं र भविष्यमा पनि यस्तै अपेक्षा राख्दछौं ।