‘बालश्रम निवारण गुरुयोजना कार्यान्वयनमा गैससको भूमिका महत्वपूर्ण’

काठमाडौं, असोज ६-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना कार्यान्वयनमा गैरसरकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बालविकास समाजको २८ औं बार्षिक उत्सव तथा २९ औं साधारणसभामा बोल्दै सचिव केसीले बालश्रम निवारण गर्नका लागि सरकारले राष्ट्रिय गुरुयोजना ल्याएको प्रष्ट्याए ।

उनले सो गुरुयोजनाको कार्यान्वयनमा सहयोग पुग्नेगरी काम गर्नका लागि आग्रह पनि गरे । संस्थाले गरेको कामप्रति थोरै भएपनि आफू जानकार रहेको र आगामी दिनमा अझ प्रभावकारी रुपबाट काम गर्न पनि उनले अनुरोध गरे । उनले बाल विकास समाजले बालबालिकाहरुको शिक्षाका लागि गरेको सहयोग प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि त्यसमा निरन्तरता दिन अनुरोध गरे ।

बालश्रम निवारणका लागि सबै सरकोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्न मन्त्रालय तयार रहेको भन्दै सचिव केसीले हातेमालो गरेर काम गरेमा पक्कै पनि बालश्रम अन्त्य गर्न समय नलाग्ने भनाइ राखे ।

कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा परियोजनाका बारेमा संक्षिप्तमा जानकारी गराइएको थियो । यसैगरी संस्थाको छात्रवृत्ति कार्यक्रम अन्तर्गत अध्ययन गरिरहेका शैक्षिक वर्ष २०७५ को एसईई परिक्षामा सफल बालबालिकाहरुलाई संस्थाले नगदसहित सम्मान गरेको थियो । संस्थाको सहयोगमा अध्ययन गरेका ५ वटा सामुदायिक विद्यालयबाट एसईई पास गर्ने बालबालिकाहरुले सो सम्मानले आफूहरुलाई शैक्षिक सफलता हासिल गर्न प्रोत्साहन मिलेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।

यसैगरी संस्थाले शैक्षिक वर्ष २०७५ को वार्षिक परिक्षामा ८० प्रतिशत देखि माथि अंक ल्याउने बालबालिकाहरुलाई पुरस्कार वितरण गरेको थियो । संस्थाको सहयोगमा विभिन्न जिल्लाबाट आएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न आर्थिक अवस्थाका बालबालिकाहरु अध्ययन गरिरहेका छन । संस्थाले कार्यसमिति, आजीवन सदस्य, कर्मचारी शुभचिन्तकहरुबाट आर्थिक सहयोग जुटाएर ती बालबालिकाहरुलाई औपचारिक शिक्षा हासिल गर्न सहयोग गरिरहेको छ । शैक्षिक सुविधाबाट वञ्चित श्रमिक बालबालिकाहरुलाई गरेको संस्थाको सहयोगले आफ्ना बालबालिकाहरुले पढ्न पाइरहेकोमा अभिभावकहरुले खुशी लागेको बताएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै चन्द्रागिरी नगरपालिकाको वडा नं ९ का सदस्य रामकृष्ण महर्जनले सो संस्थाले गरेका कामबाट आफूहरु पनि प्रभावित भएको भन्दै आफूहरुको वडालाई बालश्रम मुक्त गराउनका लागि सोही अनुसारको योजना तर्जुमा गरिएको जानकारी दिए । बालश्रम मुक्त गराउनका लागि संस्थाले चन्द्रागिरी नगरपालिकाभित्र रहेका ईँटा उद्योगमा गरिरहेको कामले नगरपालिकालाई बालश्रम मुक्त बनाउन सहयोग पुगिरहेको उनको भनाई थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुरेन्द्र ढकालले स्थानीय सरकारले नै बालश्रम मुक्त नगरपालिका तथा गाउँपालिका बनाउनका लागि ठोस रुपमा लाग्नुपर्ने र उक्त कार्यलाई सहयोग गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहयोग लिनुपर्ने धारणा राखे । कुनै न कुनै राजनीतिक पार्टीबाट चुनाव जितेर जनप्रतिनिधिहरु चुनिएको अवस्था भएपनि आफ्नो नगर तथा वडालाई समृद्ध वनाउनका लागि पार्टीगत रुपभन्दा माथी उठेर काम गर्नको लागि अग्रसर हुनुपर्ने भन्दै ढकालले बालश्रममुक्त वडा तथा नगर बनाउनका लागि बाल विकास समाजले आफ्नो बलबुताले भ्याएसम्म आर्थिक सहयोग जुटाएर सरकारको सहयोगीको भुमिका खेल्ने जानकारी गराए ।

संस्थाका अध्यक्ष सुवास गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कृष्णप्रसाद सुवेदीले संस्थाका समग्र प्रगतिका बिषयमा जानकारी गराएका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: