काठमाडौं, असोज ३-
मलेसियामा सुपरभाइजरलाई कुटेर मारेको घटनमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई नेपाली प्रहरी हिरासतबाट मुक्त भएका छन् । उनीहरुलाई अदालतको आदेशमा छोडिएको हो । शुक्रवार पेतालिङजया मजिष्ट्रेट कोर्टको आदेशमा रिहा भएका उनीहरुलाई शुक्रवार नै नेपाल पठाइएको छ ।
सो मुद्धामा नेपाली कामदारको पक्षबाट लडेकी अधिवक्ता खारेन जित कौरका अनुसार सुरक्षा गार्डका रुपमा कार्यरत ति दुई नेपालीलाई चिनिया सुपरभाइजरलाई कुटेर मारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । समयमा तलव नपाएको भन्दै मोटरसाइकल चालकले लगाउने हेल्मेटले सुपरभाइजरलाई कुटेको भिडियो यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । घटना क्वालालम्पुर स्थीत रिगाल सेक्यूरिटी कम्पनीमा गत २ सेप्टेम्वरमा भएको थियो । सो घटनामा कुटपीटका कारण सुपरभाइजर एक चिनिया नागरिकको मृत्यु भएको थियो ।
तर सो घटनामा ति नेपाली संलग्न नभर्ई एक भारतीय नागरिक सन्तोष सिंह संलग्न रहेको अदालतमा पुष्टि भएको अधिवक्ता खारेनले जानकारी दिइन् । देशपरदेशसँगको कुराकानीका क्रममा उनले सिंह फरार भएपछि प्रहरीले नेपाली सुरक्षा गार्डहरु सुनबहादुर कामी र टंक प्रसाद गौतमलाई पक्राउ गरेको र अदालतको आदेशमा रिहा भएका उनीहरुलाई क्वालालम्पुरस्थीत नेपाली दूतावासको सहयोगमा नेपाल पठाइएको जानकारी दिइन् । उनका अनुसार ति दुवै नेपाली कोकाता हुँदै भोली शनिवार एयर ईण्डियाको फ्लाइट मार्फत नेपाल आइपुग्ने छन् । मलेसियामा हत्या अभियोग प्रमाणित भएमा मृत्युदण्डको सजाय हुन्छ ।
