
काठमाडौं, असार १७-
मलेसियामा अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई पक्राउ गर्ने अभियान अन्तर्गत मलेसियाली प्रहरी होष्टल होष्टल पसेर खानतलासी गर्न थालेको छ । होष्टलमा रहेका कामदारको परिचयपत्र लगायत हेर्न र वैधानिक हैसियत नभएकाहरुलाई पक्रेर डोरीले हात बाँधेर लैजान थालिएको भिडियो फुटेज मलेसियाका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् ।
यसअघि शनिवारसम्म बैधानिक हुन दिएको समय सकिएपछि शनिवार राती देखि नै व्यापक रुपमा प्रहरी परिचालन भएको हो । मलेसियाका विभिन्न ठाउँमा व्यापक मात्रामा प्रहरी खटिएका छन् । यसले धेरैलाई आतंकित बनाएको छ । आतंककै कारण बुकित विन्ताङ लगायतका क्षेत्रमा बंगलादेशी लगायतका नागरिकले सञ्चालन गरेका पसलहरु बन्द छन् ।
यसैबीच मलेसियाका आप्रवासी कामदारको अधिकारका पक्षमा काम गर्ने मानवअधिकारवादी संस्थाहरुले प्रहरी कारवाहीको विरोध गरेका छन् । उनीहरुले आतंकित बनाउने गरी सुरु भएको प्रहरी धरपकडले समस्या समाधान नहुने भन्दै तत्काल यसलाई रोक्न माग गरेका छन् ।
नर्थ साउथ ईनिसिएटिभका एड्रिन परेराले देशपरदेशसँगको कुराकानीमा राजनीतिक तहमा दवाव सिर्जना गर्ने उद्धेश्यले सामाजिक सञ्जाल मार्फत समेत अभियान सुरु गरिएको बताए ।
यो पनि पढ्नुहोस् मलेसियाका विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन,’ईल्लिगल’ बस्नेलाई पक्राउ अभियान सुरु