
काठमाडौं, असार १५-
नेपाल वायु सेवा निगमले खरिद गरेको पहिलो वाइड–बडी जहाज काठमाडौं अवतरण गरेको छ । निगमले पहिलोपटक खरिद गरेको वाइड–बडी जहाजको बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
सरकारी ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब रुपैयाँ ऋण लिएर निगमले यो जहाज खरिद गरेको हो । दुईवटा वाइड–बडी किन्ने सम्झौता गरेको निगमको दोस्रो जहाज पनि एक महिनापछि नै आउने छ ।
युरोपलगायत लामो दूरीमा व्यावसायिक उडान गर्न जहाज किन्न चर्चा भएको लामो समयपछि निगमले एयरबसको ए ३३०–२०० सिरिजको वाइड–बडी जहाज ल्याएको हो ।
निगमले लामो दूरीमा उडान गर्न मिल्ने २ सय ७४ सिट क्षमताको जहाज ल्याएको छ । यसमा १८ विजनेस क्लास सिट छन् । नयाँ वाइड–बडी जहाजको नाम अन्नपूर्ण राखिएको छ भने यसको नेपाली दर्ता नम्बर ‘नाइनएन एएलवाई’ रहेको छ ।
नयाँ जहाज ल्याएपछि यसको व्यवस्थापनमा जोड दिनुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए ।
निगमको अर्को वाइड–बडी जहाज २५ जुलाईमा आउने कंसाकारले जानकारी दिए । बिहीबार आएको जहाजले नागरिक उड्डयन प्राधिरणबाट अनुमति पाएपछि अगष्ट १ (साउन १६) बाट नियमित उडान सुरू गर्ने निगमले जनाएको छ । पहिलो उडान भने कतारको दोहा हुनेछ ।
दक्षिण कोरियाको इन्छन विमानस्थलमा उडान गर्ने घोषणा गरेको भए पनि नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान गर्न नपाइने भएकोले ३ महिना पुरानै गन्तव्यमा उडान गर्न लागिएको कंसाकारको भनाइ छ । यो समाचार कारोवारमा शिव बोहराले लेखेका हुन् ।
यो पनि पढ्नुहोस् विदेशी जेल पर्ने अधिकांश लाइसेन्सबिनाका सवारी चालक