
काठमाडौं, बैशाख २५-
मेरो नाम कृष्ण थापा हो । घर सिन्धुपाल्चोकको जलवीरेमा पर्छ । म रोजगारीको खोजिमा २०५५ सालमा काठमाडौं पसेको हुँ । काठमाडौं आएपछि मसँग कुनै काम थिएन । त्यसैले मैले निर्माण श्रमिकका रुपमा काम थाले । पहिलो ६ महिना म लेवर भएर काम गरें । त्यहि क्रममा मैले प्लम्वीङको काममा सहयोगिको रुपमा काम गर्न थाले ।
मैले एकदिन बल्खुको एउटा तालिम केन्द्रले निःशुल्क रुपमा प्लम्वीङ सम्वन्धि तालिम दिन लागेको थाहा पाएँ । त्यहाँ गएर बुझ्दा सो तालिम निःशुल्क रहेछ । तीन महिनाको तालिम लिएपछि आफैं प्लम्वर भएर काम गर्न सकिन्छ भन्नुभयो । मलाई उहाँहरुको कुरा चित्त बुझ्यो र तालिम लिन थालें ।
तालिम निक्कै राम्रो भयो । मैले नजानेका धेरै कुरा थिए जुन मैले तालिमको क्रममा सिकें । एकहिसावले तीन महिनाको तालिम सक्दा म पूर्ण रुपमा एक्लै प्लम्वीङको काम गर्न सक्ने भइसकेको थिए । त्यसमा अझ मसँग प्रमाणपत्र पनि भएपछि मलाई सहज भयो ।
काम खोज्न जाने क्रममा मेरो सीप र ज्ञानको बारेमा कसैले प्रश्न गरेमा आफूले तालिम लिएको र प्रमाणपत्र समेत भएको बताएपछि ढुक्क भएर काम दिन थाले । यसले मलाई कामको खाँचो भएन । काम बढ्दै गयो । एक्लै भ्याउन छोडेपछि मैले अन्य भाइहरुलाई काममा थप्दै लगें । मसँग ४ जना काम गर्ने भाइहरु पुगे । सवैलाई चित्तबबुझ्दो पारिश्रमिक दिएर पनि मासिक ५०–६० हजार कमाई हुन थाल्यो । कुनै महिना पनि खाली बस्नु परेन । अझ कतिपय महिनामा त कमाई अझ धेरै हुन्थ्यो । यो क्रम २०७२ सम्म चलिरह्यो ।
विदेशको राम्रै जागिर छोडेर स्वदेश फर्केर स्वरोजगार
म काठमाडौं खाली हात आएको थिएँ । यसबीचमा मेरा दुई छोराछोरी भए । उनीहरुलाई चाहे अनुसारकै पढाएको छु । छोरो अहिले बीबीएको पढाई सकेर बसेको छ । छोरी नर्सिङ पढ्दैछिन् । उनलाई अहिले बीएन पढाइरहेको छु । स्यूचाटारमा एउटा घर(साढे दुई तल्लाको पक्की घर) बनाएको छु । मेरो अरु कुनै काम छैन । यहि प्लम्वीङको कामबाट कमाएर नै हो मैले यति गरेको ।
भूकम्प पश्चात भनें मेरो केहि दैनिकी फेरिएको छ । मेरो गाउँको घर ढल्यो । त्यसैले गाउँको घर पनि बनाउन लाग्नुपर्यो । त्यसैले काम केहि घटेको छ । अहिले मसँग एकजना भार्ई काम गर्छ । म काठमाडौं र सिन्धुपाल्चोक आउजाउ गरिरहनु पर्छ । त्यसैले काम केहि घटेपनि अहिले पनि पुरानो काम गरेका ठाउँबाट मलाई नै खोज्नुहुन्छ । त्यसैले कामको खाँचो चाहिं छैन ।
म पनि एकपटक विदेश जाउँ भनेर ठिक्क परेको थिए । कतार जान भनेर पासपोर्ट पनि बनाएँ । एकजना साथीले भिषा पठाइदिने कुरा थियो । तर बीचमै केहि कुरा मिलेन र म कतार गईन । अहिले लाग्छ कतार जान नमिलेर मलाई राम्रो भयो । कमसे कम मसँग हातमा सीप भयो । काम र कमाइको धेरै चिन्ता छैन ।
‘मासिक ३०-३५ हजार कमाउँछु, ४ जनालाई १५-२० हजारको रोजगारी दिएको छु’
हिजोआजका युवा नेपालमा परिश्रम गर्न भनेपछि लाज मान्छन् । हो, काम गर्दा कहिले धुलोहिलो पनि लाग्छ । कपडा फोहोर पनि हुन्छ । हो त्यहि कारण युवा नेपालको रोजगारीमा आकर्षित छैनन् जस्तो लाग्छ । तर विदेश गएर पनि नपढेको वा थोरै पढेको मान्छेले गर्ने काम त त्यस्तै हो । अर्काको देशमा गएपछि झन अप्ठ्यारो हुन्छ । न खानको ठेगान, न बस्नको । विरामी परेमा आराम गर्न समेत छुट्टी पाइन्न भन्ने सुन्छु । यहाँ त आफ्नै देशम, आफ्नै परिवारसँग बसेर मज्जाले काम गर्न पाइन्छ । केहि अप्ठ्यारो परिहालेमा आफ्नै घर, परिवार, आफ्नै देशमा भइन्छ । त्यसैले विदेश जाने सोच बनाएकाहरुले एकपटक आफ्नै देशमा केहि गर्न सकिन्छ की भनेर सोचौं ।
(प्लम्वीङको काम गर्ने कृष्ण थापासँग गरिएको कुराकानी शनिवार विहान ९ः१५ देखि १० बजेसम्म देशका २३ वटा रेडियो स्टेशनहरुबाट प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा प्रशारण गरिएको छ ।)
यो पनि पढ्नुहोस् अव देखि मागपत्र प्रमाणिकरण दूतावासबाट मात्र