रञ्जना लम्साल, कावासोती, बैशाख १६-
कावासोती नगरपालिका ४ का सुनिल पाण्डेले कतारमा ८ वर्ष विताए । कतारमा उनले राईट डाईरेक्सन नामको कम्पनीमा एउटा विभागको इन्चार्ज भएर काम गरे । काम सजिलै थियो । बाहिरको काम थिएन न त गाह्रो नै थियो । मासिक ६० हजार कमाई चित्तबुझ्दो नै थियो । तर त्यो काम र कमाईमा चित्त बुझाएर बस्ने योजनामा थिएनन पाण्डे । उनको विचार धेरै समय विदेशमा विताउनु भन्दा विदेशमा कमाएको रकम कुनै न कुनै व्यवसायमा नेपालमा लगानी गर्नुपर्छ र आफैं व्यवसाय शुरु गर्नुपर्छ भन्ने थियो । नेपालमा पनि राम्रो आम्दानी हुने व्यवसाय छन्, त्यस्ता व्यवसायको पहिचान गरी लगानी गर्ने योजनाका साथ पैसा कमाउन विदेशिएका थिए उनी । त्यसैले केहि कमाएपछि नेपाल फर्केर मोटरसाईकल मर्मत गर्ने ग्यारेज(वर्कशप) खोल्ने योजना बनाए उनले ।
उनी दुई महिनाको विदामा नेपाल आएका थिए । तर उनले अव विदेश नफर्की नेपालमा नै काम सुरु गर्ने सुर कसे । योजना अनुसार स्थानीय बजारमा जिल्ला प्रशासन कार्यालयको नजिकै वर्कशप राख्ने ठाउँको छनौट गरे र सुरु गरे आफ्नै मोटरसाईकल वर्कसप ।
विदेश जानु अगाडी चौधरी उद्योगमा काम गरेका सुनिल नेपालको रोजगारीबाट भन्दा विदेश जाँदा आफुले बनाएको योजनामा काम गर्नका लागि रकम जुटाउन छिटो हुन्छ भनेर विदेश गएका थिए । भयो पनि त्यस्तै ।
४ लाखको लगानीमा खोलिएको पसलमा राम्रै आम्दानी हुन्छ । उनले एकजनालाई रोजगारी पनि दिएका छन् । ८ बर्ष कतारमा रहेर कमाएको पैसाले उनले केहि जग्गा पनि जोडे । बचत भएको पैसाले नै उनले वर्कशप खोलेका हुन । घरमा आमा, श्रीमती र १ छोरा । परिवार सानो छ, श्रीमती पनि नेपालमा जागिरे छन् । श्रीमतीको कमाईले झण्डै घर खर्च चल्छ उनीहरुको । त्यसैले वर्कसपको कमाई बचत हुन्छ ।
बैदेशिक रोजगारी देखेजत्तिको सजिलो नभएको पाण्डे बताउँछन् । “बिदेशमा रहँदा देश, घरपरिवार साथीसंगीको याद अलि बढि नै आउँदो रहेछ” उनी भन्छन् “बिदेशमा जस्तो मेहेनत गर्ने हो भने बिदेशमा भन्दा नेपालमा दोब्बर कमाउन सकिन्छ ।” नेपालीहरु नेपालमा केही विकल्प नदेखेर विदेशिने गरेपनि नेपालमा पनि कुनै न कुनै पेशा गर्न सकिने उनको ठम्याई छ । पाण्डेका अनुसार विदेश जान लगानी गरेको रकम र समय नेपालमै लगानी गर्ने भने यहाँ पनि आम्दानी उत्तिकै गर्न सकिन्छ । कृषि क्षेत्रमा व्यवसायिक खेती, पशुपालन, माछापालन, मैरीपालन यहाँको सम्भावना रहेको क्षेत्र उनी देख्छन् । उत्पादन तथा वजारमा व्यापार व्यवसाय क्षेत्रबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ ।
वैदेशिक रोजगार नेपालीको रहर नभई वाध्यता हो । सामाजिक मान्यताको रुपमा विकसित, नेपालमा कुनै विकल्प नदेखी परिवारको सुनौलो भविष्य कोर्ने सपना पुरा गर्न दुई चार पैसा जोरजाम गर्ने विकल्पको रुपमा नेपालीले अँगालेका छन् । ९० प्रतिशत नेपाली कम्तीमा १० वर्ष वैदेशिक रोजगारीका लागि खाडी तथा मलेशियामा विताउने गरेका छन् । क्षमता तथा उर्जावान समय विदेशमा खर्चने गर्छन् । स्वदेशमा नै केही गरांै, नेपालमा पनि अनेकन विकल्पहरु छन् भनी सोच्ने कामदारहरु १० प्रतिशत मात्र छन् । पाण्डे जस्तै केहि समय बैदेशिक रोजगारमा विताएर फर्केकाहरु हुन् वा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नेहरु, यस्ता कर्मशील कामदारहरु उदाहरणिय छन् ।
यो पनि पढ्नुहोस् ‘मासिक ३०–३५ हजार कमाउँछु, ४ जनालाई १५–२० हजारको रोजगारी दिएको छु‘
