
सन्तोष कुमार राई, खोटाङ्ग,चैत्र १६-
खोटाङ्गको दिक्तेल देखि उत्तरी भेग रुपाकोट डाँडाको आठधार्ने । बिहानीको झुल्के घाम । चिसो चिसो मौसम । दुईसय भन्दा धेरै भेडा र बाख्रा यताउति कुदिरहेका छन् । एकजना भेडा समातिरहेका छन् भने अर्का चाहि भेडाको दुध दुहुँदै छन् । १६/१७ वटा भेडाकोे यसरी नै उनीहरुले दुध दुहेर भ्याए ।
भेडाबाख्रा पाल्दै लेकाली डाँडापाखा, झोर जंगलमा रमाई रहेका छन् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.२ मुडेका कमल तामाङ्ग । अनी यहि नगरपलिका वडा नं.१५ बुईपाका बिर्ख बहादुर गरुङ्ग । उनीहरुले यो काम गरेको ५ बर्ष भयो । घरखेती परिवारका अरु सदस्यलाई जिम्मा लगाएर उनीहरु लेकाली गोठमा श्रीमतीहरुसँग बस्दै छन् । दुई परिवारको गोठ नजिकै छ ।
यी दुईको कथा झण्डै उस्तै छ । दुवै परिवार भेडा पाल्छन् । अनी दुवै विदेशको स्वाद चाखेर फर्केका हुन् । र, दुवैको विदेशको भोगाई पनि झण्डै उस्तै छ ।
कमल तामाङ्गको पशुपालन गर्ने जाँगर त्यत्तिकै भनें आएको होईन । कुवेतमा डेढ बर्ष र कतारमा ९ बर्ष काम गर्दा पनि आफ्नो आर्थिक अवस्थामा खासै सुधार नभए पछि स्वदेशमै गर्दा पो हुन्छ कि भनेर उनी फर्किए । त्यसपछि बाख्रा र भैंसी पाले । बिदेश जानु भन्दा पहिला पनि भेडाबाख्रा पालेका कमलले बिदेश जाँदा ति सबै बेचेर ५० हजार बुझाएर कुवेत उडेका थिए । कुवेतमा काम र दाम राम्रो नभए पछि भेडा बेचेर गएको पैसा मरितरी तिरे उनले । कमार्ई हुने छाँट नदेखेपछि उनी डेढ बर्षमै नेपाल फर्किए ।
कुवेतमा कमाई नभएपनि विदेशमा भाग्य अजमाउने उनको रहर मरेको थिएन । सन् २००२ तिर उनी फेरी कतार उडे ७० हजार तिरेर । कतारमा भने कुवेतमा जस्तो गाह्रो काम परेन । स्टोरमा सहयोग गर्ने काम पाए उनले । तलव थियो ८ सय रियाल । खाना र बस्ने बास सबै कम्पनीले नै दिन्थ्यो ।
घरमा खाने मुख मात्रै बढेका थिएनन्, पढाई खर्च पनि बढ्दै थियो । २ छोरा, २ छोरीको पढाई खर्च र घर खर्च हरेक महिना घर पठाउनु पथ्र्यो । बीचमा छुट्टीमा घर आउँदा पनि ठूूलै खर्च हुन्थ्यो । कमल भन्छन्ः छोरा छोरी पढाएर अनी खेतीपाती लगाउन खेताला लगाउँदाको पैसा तिर्दैमा कतार बसाईको ९ बर्ष ठिक्क भयो । ९ बर्ष कतारमा काम गर्दा उमेर त बढ्यो तर तलव खासै बढेन । ८ सयबाट सुरु भएको तलव बल्लतल्ल ११ सय रियाल पुग्यो त्यहि पनि कम्पनी घाटामा गएपछि घर फर्किए कमल ।
नेपाल आएर उहि पुरानै पेशा पशुपालन सुरु गरे उनले । पुरानै पेशाले उँभो लगाउने छेकछन्द देखायो । ९ बर्ष बिदेश बस्दा घर खर्च मात्रै टरेको थियो, स्वदेशमा नै पालेको बाख्राबाट घर खर्च कटाएर बार्षिक १ लाख ६० हजार भन्दा धेरै बचत हुन थाल्यो ।
अहिले माउ खसी र बोका गरि ६७ वटा बाख्राहरु ३ माउ भैंसीहरु छ कमलसँग । बाख्राकै आम्दानीबाट कान्छी छोरी काठमाडौमा बसेर पढ्दैछिन् । जेठी छोरीको विहे खर्च पनि टर्यो त्यहि बाख्राको आम्दानीले ।
हुन त खटाई विदेशको भन्दा कम छैन स्वदेशको । तर आफ्नै ठाउँमा बसेर गरेको काम र भइरहेको कमाईले सन्तोष दिएको छ कमलालाई । उनलाई लाग्छः स्वदेशमा नै मेहनत गर्न सकिन पनि विदेश नै जानु पर्ने रहेछ ।
उनका छिमेकी बिर्ख बहादु गरुङ्गको कथा पनि यस्तै छ । उनी ६ बर्ष कुबेत र साउदीमा बिताएर फर्केका हुन् । बिदेशको कमाईको नाममा उनले ईटहरीमा १ कट्ठा जग्गा किनेका छन् । अनी विदेशमा कमाएको केहि पैसा लगानी गरेर उनले थालेका हुन् भेडा पालन । उनी पनि त्यहि जग्गा किन्नु र केहि भेडामा लगानी गर्नु बाहेक घर खर्चमै सवै रकम सकिएको बताउँछन् ।
घर खर्चमात्र टार्न सधैं विदेश दौडिनु ठिक हुन्न भन्ने बुझेर ५ बर्षयता भेडापालन गरिहरेका बिर्ख बहादुर अहिले यसमै सन्तुष्ट छन् । उनको पनि बार्षिक कमाई सबै खर्च कटाएर झण्डै दुई लाख हुने गरेको छ । बिदेशमा जस्तो न तातो घाम छ, न अत्यास लाग्दो मरभूमि छ रुपाकोटमा । न कसैको डर त न कसैको दवाव । त्यसैले रुपाकोटको गोठ उनका लागि सवैथोक हो अहिले ।
अहिले बिर्ख बहादुरको गोठमा १ सय ६ वटा भेडा, १३ वटा बाख्रा छन् । खेतीपाती छोराबुहारीले सम्हालेका छन् । गोठ सम्हालेर बसेका बिर्ख बहादुर र उनकी श्रीमती चाहिं बर्षातको समयमा माथिल्लो पहाडी लेकहरु साल्पा, मेरुङ्ग मयौ सोलु, भोजपुरको सिमानासम्म भेडा लिएर पुग्छन् अनी हिउँद लागेपछि तल झर्छन् । मरुभुमिको तातो हावा र घामले पिल्सीएको ज्यान बल्ल पहाडी चिसो हावाले तग्रिंदै गए झै लाग्छ उनलाई । बिर्खबहादुर भन्छन्ःस्वदेशमा नै गरिखान त सकिने रहेछ तर त्यो बुझ्न पनि खाडी पुग्नु पर्दो रहेछ ।
यो पनि पढ्नुहोस् आमाको विलौनाः मलेसिया गएको छोरोले हामीलाई विर्सियो की ?