
कावासोती, चैत्र १२-
उनले लेवननमा १ बर्ष विताइन्, घरेलु कामदार भएर । विदेशको काम असजिलो त थिएन तर उनलाई जसरी त्यहाँ पुर्याइयो र तलव फरक पर्यो यसले आफू ठगिएकोमा उनलाई आत्मग्लानी भइरह्यो । नेपालकै बाटो भएर विदेश जान हिंडेकी उनी झुक्याएर अनी बाध्य पारेर भारतको बाटो हुँदै लेवनन् पुगेकी थिइन् । गाउँमा हुँदा समाजसेवाको थोरबहुत काम गरिरहेकी बालकुमारी जिसीलाई त्यहि कुराले नेपाल फर्केर गाउँका महिलालाई बैदेशिक रोजगारका बारेमा सचेत बनाउन झक्झक्यो ।
नेपालकै बाटो भएर लेवनन्मा प्रति महिना ५ सय डलर तलव हुने काममा भनेर काठमाडौंको एक दलाललाई ५० हजार रुपैंयाँ बुझाएकी बालकुमारी त्यति बेला छाँगाबाट खसेजस्तै भइन् जव उनको लेवनन् उड्ने दिन आयो । सुरुमा नेपालकै बाटो भएर पठाउने आश्वासन दिएका ति दलालले अरु तीनजना युवतीलाई समेत उनकै जिम्मा लगाउँदै दिल्ली भएर कुवेत जाने टिकट र भिषा थमायो । अन्तिम अवस्थामा उड्न ठिक्क परेकी बालकुमारी घर फर्किन सकिनन् । त्यसैले उनी बाध्य भएर दिल्ली हुँदै लेवनन् पुगिन् । जिसीले आफू ठगिएको एउटा अनुभव यहि कुरामा गरिन् ।
जव लेवनन् उत्रिइन् उनी, एउटा अफिसमा पुर्याइयो उनलाई जहाँ काम गर्ने एक नेपाली महिला पनि थिइन् । तिनै महिला मार्फत उनले थाहा पाइन् उनको तलव ५ सय डलर नभई १ सय ५० डलर थियो जसको सामान्य प्रतिवाद गरेपनि अव बालकुमारीसँग कुनै उपाय थिएन । त्यसैले एक आमाछोरीको घरमा घरेलु कामदारको रुपमा काम गर्न पुगिन् उनी ।
सुरुमा उनले तलव फरक परेको भन्दै काम नगर्ने अड्डी कसेपनि ति आमाछोरीले कि त आफूले तिरेको १८ सय डलर तिरेर फर्किन वा काम गर्न विकल्प दिएपछि उनीसँग काम गर्नुको विकल्प भएन । तीन महिनापछि तलव बढाउने शर्तमा काम थालिन् उनले । यसरी नै ६ महिना वित्यो तर तलव भनें बढेन । यहि बीचमा उनको मनमा एउटा जुक्ति सुझ्यो ।
घर फर्किने नयाँ जुक्ति
उनले आफूलाई लेवनन् साह्रै मन परेको भन्दै अव कहिल्यै नेपाल फर्किन्न भन्न थालिन् ति आमाछोरीलाई । उनीहरु पनि खुशी थिए । हरेक दिन विहान आदरपूर्वक उनीहरुलाई नमस्कार गर्ने, घरको काम निक्कै जाँगरका साथ गर्न थालिन् बालकुमारी । यो देखेर उनका रोजगारदाताले अन्य नातेदारलाई पनि नेपाली केटी कामदार खोज्न सुझाव दिन थाले । अव उनलाई विश्वास भयो मैले ति आमाछोरीको मन जितें भन्ने । त्यसपछि उनले नेपालमा दाजुलाई फोन गरेर आमा साह्रै विरामी परेको भनेर फोन गर्न अह्राइन् । दाजुले त्यहि अनुसार गरे ।
जव दाजुले ति महिलाको मोवाइलमा फोन गरे र बालकुमारीले कुरा गरिन् उनी जोडजोडले रुन थालिन् । उनले आफ्नी आमा साह्रै विरामी परेको र अन्तिम पटक मुख हेर्न घरबाट बोेलाएको सुनाइन् र निरन्तर रोइरहिन् । खै उम्किने यो अन्तिम उपाय हो भन्ने लागेर होला, मलाई त्यतिबेला साह्रै धेरै आँशु पनि आयो उनले देशपरदेशसँग भनिन् म त्यो दिन बेलुकासम्म त्यसरी नै रोइरहें, केहि खाइन पनि ।
बेलुका छोरी घर फर्केपछि पनि उनी तिनको खुट्टा समातेर त्यसरी नै रोइन् । आफू एकपटक घर गएर आउने भन्दै उनी रोएको देखेर ति आमाछोरीको मन पग्लिन थाल्यो । त्यो रात उनीहरुले जति कर गरेपनि केहि नखाइ सुतिन् बालकुमारी । भोलीपल्ट पनि त्यसै गरिन् उनले । तेश्रो दिन लागेपछि केहि सीप चलेन ति आमाछोरीको । त्यसैले एकहप्ता पछिको टिकट ल्याइदिए । अव उनी घर फर्किन पाउने भइन् ।
उनी नेपाल फर्किन त्यो सवै नाटक गरेकी थिइन् । लेवनन्को भूमी छोड्दै गर्दा बालकुमारीले आफू ठगिएर आइपुगेको भूमिमा अव कहिल्यै पाइला नटेक्ने त कसम खाइन् नै, स्वदेश फर्किएपछि आफू कसरी ठगिएँ भन्ने कुरा सुनाएर अरु महिलालाई सचेत बनाउने पनि प्रतिज्ञा गरिन् ।
नेपाल फर्केपछि
नेपाल फर्केपछि उनलाई पनि ढुँगा खोज्दा देउता मिलेजस्तो भयो । केहि समय अन्य प्रयत्न गरेपछि उनले आफूलाई मिल्दो एउटा काम खुल्दै गरेको थाहा पाइन् । नवलपरासी जिल्लामा सुरक्षित आप्रवासन परियोजना सुरु हुँदै थियो । त्यहाँ बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई आफ्नो ज्ञान, अनुभव बाँड्न चाहनेहरुका लागि रिटर्नी भोलेण्टियरको रोजगारी खुल्यो जसमा आवेदन दिइन र छानिइन् पनि बालकुमारी । ३ बर्षदेखि उनी आफू बैदेशिक रोजगारमा जाँदा कसरी ठगिएँ भन्ने कुरा बताइरहेकी छिन्, सम्भावित जोखिमका कुरा बताउँदै सुरक्षित भएर जान सल्लाह दिन्छिन् ।
सानो सल्लाह ठूलो काम
एक बर्ष अघिको घटना हो । चारजना युवतीलाई कुवेत लैजान दलालले ठिक्क पारेको सुईंको पाइन् उनले । दौडिएर भेट्न पुगिन् उनी । सुरुमा त उनीहरुले बालकुमारीको कुरा उति ध्यान दिएर सुनेनन् । त्यसपछि परिवारमा भेट्न गइन् उनी । आफू कसरी ठगिएँ भन्ने कुरा सुनाउँदै अरुले पाएको दुःखका कुरा पनि बताइन् उनले । त्यसपछि ति युवतीहरु तालिम लिएर गार्मेण्टको काममा जोर्डन जान तयार भए । सामी परियोजनाले सञ्चालन गरेको निःशुल्क सीप सिकेर जोर्डन गएका उनीहरु अहिले सहज काम र राम्रो दाम कमाईरहेको खवर सुन्दा आत्मसन्तोष लागेको बालकुमारी बताउँछिन् । उनी भन्छिनः अहिले गरिरहेको काममा पैसा कति पाइन्छ भन्ने कुरा भन्दा आफूले गरेको कामले कति धेरैलाई फाइदा पुगेको छ भन्ने कुराले धेरै आत्मसन्तुष्टि मिलेको छ ।
गाउँमा गरेको सेवाको सम्मान
ग्रामिण क्षेत्रमा बसेर गरेको यहि कामको कदर गर्दै रुद्र गौरी श्री अम्विका ओली प्रतिष्ठान भद्रपुरले जिसीलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार दिने निर्णय गरेको रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले जनाएका छन् । सामाजिक अभियन्तका रुपमा जिसीलाई प्रदान गर्न लागिएको पुरस्कारको राशी १ लाख एक हजार एक सय ११ रुपैंयाँको छ । बैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि सूचना प्रवाह तथा जोखिम स्थितिबाट महिलाहरुको सशक्तिकरण,उद्दार तथा पुनस्र्थापनमा उल्लेख्य योगदान पुर्याएको भन्दै जिसीलाई पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । आगामी बैशाख ४ गते झापामा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान हुने आयोजक संस्थाले जनाएको छ ।
जिसीसँगै प्रतिष्ठानले बैतडीका वरिष्ठ बैज्ञानिक मदनराज भट्ट, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार र साहित्यकार मेघराज शर्मा मञ्जुललाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार– प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैंया छ । यसैगरी सि.वि.आर. भक्तपुरलाई ५१ हजार १ सय ११ रुपैंयाँ राशीको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
यो पनि पढ्नुहोस् नेपाल उत्रिएपछि हराएका गोविन्द एक महिनादेखि बेखवर