सुदीप निउरे, मलेसिया, जेठ ०६-
जेठ ३ गते रातीको त्यस्तै १२ बजेको हुनु पर्छ मेरो मोबाईलमा घण्टी बज्यो । बिल्कुलै नयाँ नम्बरबाट फोन आएको थियो । सबै काम सकेर म सुत्ने तरखर गर्दै थिए । त्यै पनि फोन उठाएँ । को बोल्नु भो ? मेरो प्रश्नको उत्तर नदिईकन उताबाट सिधै प्रश्नै सोधियो, तपाईको घर कहाँ हो भन्नु त । म अलमलमा परे । अनि तपाईको नाम के हो नि ? फेरी अर्को प्रश्न सोधियो । चिन्दै नचिन्ने मान्छेको फोन आएको छ मध्यरातमा त्यसमा पनि फटाफट नाम र घर सोध्छ । तर कसले, किन र के कामको लागि फोन गरेको भन्ने कुरा फोन गर्नेले खुलाउन चाहेनन। उनलाई सोध्नै हतारो देखिन्थ्यो । मैले पनि उनको प्रश्नको जवाफ दिन उचित ठानिन । र फोन गर्ने मान्छेलाई सोधी रहें बरु तपाई को हो भन्नु न । उताबाट उत्तर आयो म मलेसियाको जोहोरबारुबाट । मात्र यत्ती उत्तर दिएपछि फोन गर्ने मान्छेले फोन काटे। एकाएक आएको यस्तो फोनकलले एकछिन मलाई रनभुल्लमा पाऱ्यो । त्यसपछि त्यो फोनकललाई मैले सामान्य भुल बस आएको फोनकल हुन सक्ने अडकल गर्दै सुते ।
राती २ बजेतिर फेरी अर्को नया नम्बरबाट फोन आयो । मैले फेरी फोन उठाएं र सोधें को बोल्नु भो यती राती ? उत्तरमा, म यतै मलेसियाबाट हो । तपाई प्रदिप जी हो । फोन गर्नेले प्रश्न गरे । मैले होईन मत सुदिप हो भन्ने उत्तर दिएँ । के कामका लागि फोन गर्नु भो ? भनेर मैले सोधें । उनले पनि मेरो प्रश्नको जवाफ दिने कोशिश गरेनन बरु थप अर्को प्रश्न सोधे तपाईको घर सुनसरी होईन ? नाई मेरो घर त चितवन हो । मबाट यति उत्तर पाउने बित्तिकै उनले ए लल भन्दै फोन राखे ।
रातबिरात आएका यी दुईवटा फोन कलले मेरो मनमा अलिकति चिन्ता थपि दियो । मलेसिया रोजगारी गर्न थालेको ४० महिना भैसक्यो । यसअघि यस्ता अनौठा फोन कल कहिल्यै आएका थिएनन् । म एउटा मलेसियन कम्पनिको सुपरभाईजर पोष्टमा कामगर्ने मान्छे । झण्डै ३ सय नेपालीको नेतृत्व गर्छु । कुनै बेला झण्डै ६ सय नेपाली पनि हेरें । रातमा फोन आउनु मेरो लागि नौलो कुरा होईन । कामको सिलसिलामा आउने फोन कसले, किन, के का लागि गऱ्यो भन्ने कुरा स्पष्ट हुने हुनाले पनि मनले अन्यथा सोच्नु पर्ने अवस्था आएन । तर ३ गते राती आएका ति दुईवटा अनौठा फोन कल मेरो लागि अलीक फरक बन्न पुगे ।
हामी श्रीमान श्रीमतिनै मलेसियामा रोजगारी गर्दछौ । यी दुईवटा अन्जान फोनकलको चिन्ता मलाई भन्दा पनि मेरी श्रीमतिलाई अलि बढि देखियो । नचिनेका नम्बरबाट आएका फोन अब नउठाउनु भन्ने उनको सुझाव आयो ।
भोली पल्ट अर्थात जेठ ४ गते बिहानको काम सकेर फर्किदै गर्दा अर्को एउटा पहिलेकै जस्तो गरि फेरि नयाँ नम्बरबाट फोन आयो । बिहानको त्यस्तै ९ बजेको समयमा आएको त्यो फोनकलले मेरो मनमा जमेको रहस्यको पोको खोली दियो ।
उनी तेस्रो फोनकर्ता थिए तर उनको सवाल पनि मध्यराती आएका अन्य दुईवटा भन्दा फरक थिएन । तपाई प्रदिप जी हो ? तपाईको घर सुनसरी हो ? यतिका बर्ष तपाई किन घर नगएको ? यती सुन्ने बित्तिकै मलाई झल्याँस्स सम्झना भयो । यो हराएका परदेशी खोज्ने अभियानको फोन पो रहेछ ।
तेस्रो फोनकल गर्ने ब्यक्ति काजांगमा सेक्युरिटिको काम गर्ने रहेछन । उनलाई मैले अरु केहि भनिन मेरो नाम सुदिप हो, प्रदिप होईन फेरी एकपल्ट समाचार पढ्नु है मात्र भने । देशपरदेश डटकममा मलेसियामा उनलाई तपाईले कहिं देख्नु भएको छ ? भन्ने शिर्षकमा अघिल्लो दिन भिडियो सहितको समाचार प्रकाशित भएको थियो । त्यहाँ कसैले देखेभेटेको भएमा सम्पर्क गर्न मलेसियाको मेरो नम्वर राखिएको थियो । आखिर फोन त्यहि समाचारले गराएको रहेछ । सो समाचार पढ्नुहोस्
मलाई केहि अरु व्यक्तिले पनि फोन गरेर किन घर नगएको भन्दै झपार्ने काम गरे । अर्थात ति सहृदयी नेपाली त्यो परिवारको भावनाले छोइएका थिए र उनीहरुले समाचारलाई राम्रोसँग नपढी मलाई नै फोन गरेर गाली गर्न आग्रसर थिए । उनीहरुको उद्धेश्य गलत थिएन, केवल उनीहरुले फोन गरेको व्यक्ति मात्र फरक थियो । कुरा बुझेपछि उनीहरुले ति व्यक्तिलाई कसरी खोज्न सकिएला भनेर चिन्ता पनि जाहेर गरे ।
खुसीको कुरा प्रदीपलाई मलेसियाकै एक कम्पनीमा कार्यरत रहेको अवस्थामा फेला पार्न सफल भयौं । उनी काम गर्ने कम्पनी, त्यहाँको एचआर विभागसम्म पुगेपछि एचआर विभागकी चाइनिज महिलालाई महिले उनका बारेमा राम्रोसँग बताएँ । ति चाइनिज महिलाले म उ(प्रदीप) सँग कुराकानी गर्छु भनेर फोन राखिन् ।
मलेसियाको समय अनुसार दिउँसो मैले कम्पनीमा कुराकानी गरेको थिएँ । बेलुकीपख नेपालबाट सम्पादक सुनिल न्यौपानेले खुशीको खबर सुनाउनु भो । प्रदिपले घरमा फोन गरेछन् । उनी अवको दशैं मान्न घर जाने भएछन् । पढ्नुहोस् सो समाचार
अहिले प्रदिपको घरपरिवार जति खुसी छ म त्यो भन्दा कम खुशी छैन । यस अघि पनि हामीले केहि परिवारसँग बेखवर रहेका व्यक्तिको खोजि गर्ने प्रयास गरेका छौं तर त्यसमा सफलता प्राप्त नहुँदा मन खिन्न भइरहेको थियो । तर प्रदीपको घटनाले मलाई उत्साहित बनाएको छ र हराएका परदेशी खोज्न प्रेरित गरेको छ ।
प्रदिप के कारणले लामो समय घरपरिवार भुलेर बसे । समस्या के थियो । किन उनले घर सम्झेनन । ति कुरा उनी घर पुगेपछि नै थाहा होला । तर मेरो आग्रह घर बाहिरको सानो खुशीका लागि घरभित्रको ठुलो खुशी मार्ने काम कोही कसैले नगरौ । हामी घरपरिवारको खुशीलाई सामान्य ठान्छौ तर घरपरिवारले हामीलाई सबैथोक ठानेको हुन्छ ।