काठमाडौं- कतिपय दर्तावाला म्यानपावर कम्पनीले गर्ने ठगिको रकम ठूलो हुन थालेका कारण म्यानपावर कम्पनीको धरौटी रकम बढाउनु पर्ने आवाज उठेको छ । त्यस्ता कम्पनीहरुले एकैपटकमा लाखौं रकम ठग्ने भएका कारण हाल रहेको ३० लाखको धरौटीले पीडितको क्षतिपूर्ति तिर्न नपुग्ने भएकाले धरौटी रकम बढाउनु पर्ने तर्क यसका पक्षधरहरुले गरेका छन् ।
राजधानीमा राष्ट्रिय महिला आयोग र गैर सरकारी संस्था पौरखी नेपालले बैदेशिक रोजगार ऐन संशोधन तथा आवश्यक नीतिहरु निर्माणमा सुझाव दिन आयोजित कार्यक्रमका सहभागिले यस्तो विचार व्यक्त गरे । सो अवशरमा बोल्दै बैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईले हालको धरौटी रकम अत्यन्त न्यून भएको बताइन् । उनले हालको नगद ७ लाख र २३ लाख बरावरको बैंक ग्यारेण्टीले मात्र कतिपय अवस्थामा पीडितलाई क्षतिपूर्ति तिर्न नपुग्ने धारणा राखिन् ।
पौरखीकी अध्यक्ष मञ्जु गुरुङले हालको जस्तै निश्चित रकम धरौटी राखेर सहज रुपमा व्यवसायको ईजाजत लिन पाउने व्यवस्थाको अन्त्य हुनुपर्ने धारणा राखिन् । निश्चित अनुभव, शैक्षिक योग्यता र उसका परिवार वा नातेदार मध्येमा कम्तिमा दुईजनालाई व्यवसाय दर्ता गर्ने समयमा साक्षि राखेर मात्र व्यवसाय दर्ता गर्नुपर्ने गुरुङको भनाई थियो ।
उनले गम्भीर प्रकृतिको गल्ती गरि कारवाहीमा परेका मेनपावर कम्पनी सञ्चालकहरुलाई दोश्रोपटक ईजाजत दिन नहुने समेत बताइन् । नेपालमा मेनपावर व्यवसायीको संख्या धेरै भइरहेको भन्ने सन्दर्भमा गुरुङले निश्चित संख्यामा मात्र बैदेशिक रोजगार कम्पनीहरु सञ्चालन गर्न दिइनु पर्ने धारणा राखिन् । साथै मेनपावर कम्पनीहरु पनि कुन देशमा कामदार पठाउने हो भन्नेमा विशिष्टिकृत हुन जरुरी रहेको गुरुङको भनाई थियो ।
कार्यपत्र प्रस्तुत गर्दै गुरुङले बर्षभरी आएका उजुरीका आधारमा दर्ता भएका बैदेशिक रोजगार व्यवसायी कम्पनीहरुको स्तर निर्धारण गर्नुपर्ने तथा त्यसलाई सार्वजनिक गर्न माग गरिन् । यसले राम्रो काम गर्ने व्यवसायीलाई प्रोत्साहन समेत मिल्ने उनको भनाई थियो । यसैगरी उजुरी परेर फैसला भइ कारवाहीमा परेका मेनपावर कम्पनीहरुलाई तुरुन्त कालोसूचीमा राखेर तिनिहरुले काम गर्न नपाउने व्यवस्था गर्नुपर्ने पनि उनले बताइन् । बैदेशिक रोजगार ऐन २०६४ को संशोधनका सम्वन्धमा पौरखीले विभिन्न चरणमा आयोजना गरेको छलफलको सारलाई श्रम तथा रोजगार मन्त्री दीपक बोहरा सहितको कार्यक्रममा छलफल गरिएको हो ।
तस्वीरः ईण्टरनेटबाट लिइएको काटुर्न