नाकावन्दी, अरव र नेपाली मन

सुनिल न्यौपाने, काठमाडौं मंसिर १ 

यतिबेला नेपाली कति मुलुकमा पुगेका होलान् ? यो प्रश्नको जवाफ सहज छैन । दार्जेलिङका चियावगान, पञ्जावका खेतखलियान, मलायाका लाहुरे हुँदै छरिन थालेका नेपाली धेरैले कल्पना नगरेको अफ्रिकाका नामै नसुनिएका मुलुकहरुसम्म पुगिसकेका छन् ।  

देशमा आर्थिक उपार्जनका अवशर कमजोर हुनुदेखि अझधेरै प्रगतिको अपेक्षाले नेपालीलाई देशदेशावर घुमाइरहेको छ, पु¥याइरहेको छ । कोहि अध्ययनका नाममा उडे त कोहि घरको चुलो बाल्न अरव र मलेसिया पुगे । समग्रमा झण्डै ३० लाख नेपाली अहिले विदेशमा रहेको अनुमान छ । 

यहि पंक्तिकारले अघिल्लो हप्ता एउटा प्रश्न उठाएको थियो । एनआरएनएको नाममा गोलवन्द भएकाहरु देशलाई संकट परेको समयमा कहाँ लुके भनेर । त्यसमा दुवैथरी प्रतिकृया आए । कतिपय सान्दर्भिक विषयमा झक्झक्याएको भन्ने थिए, कतिपयले केवल आलोचना भने । अनी केहि प्रतिकृया अरवको वास्तविकता नबुझि लेखियो भनेर गुनासो थियो । खाडीका देशमा प्रदर्शन गरे जेलको हावा खाइने उहाँहरुको भनाई थियो । यी सवै प्रतिकृया स्वभाविक थिए । 

यहि बीचमा एनआरएनएले अत्यावश्यक औषधी सहितको १० करोड वरावरको सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको हो । यो नेपाल बाहिर रहेका नेपालीको मातृभूमि प्रतिको दायित्व त हुँदै हो, यो आपतमा उनीहरुले लगाएको गुनलाई धेरैले सम्झिने छन् पनि । 

अहिले यी पंक्ति लेखिरहँदा मलाई गौरव महशुश भएको छ । अघिल्लो हप्ता बेलायतमा नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा उनको कानैमा च्वास्स घोच्ने गरी विरोधको स्वर गुञ्जाए । समाचारहरु अनुसार नेपालीको विरोधबाट ओझेल पर्न छलिंदै भाग्दै गर्दा पनि उनले त्यो विरोधको सामना गर्नै प¥यो । अर्थात बेलायत पुगेका नेपालीले आफ्नो मातृभूमिलाई अप्ठ्यारो पर्दा आफ्नो दायित्व एकहदसम्म पुरा गरे । 

अमेरिकामा त्यहि हुँदैछ । त्यहाँ नेपालीले विरोध प्रदर्शन गर्न थालेका छन् । अझ संगठित रुपमा प्रदर्शन गर्ने तयारी छ । यो क्रम अष्ट्रेलिया, जर्मनी, डेनमार्क लगायतका देशहरुमा हुँदैहोला वा हुँदै जाला । 

जहाँसम्म खाडीका देश र मलेसियाको कुरा छ, त्यहाँ नेपालीले प्रदर्शन गर्न सक्दैनन । यो ज्ञात तथ्यलाई नेपालमा बस्ने सवै नेपालीले बुझेका छन् । तर त्यहाँ बस्ने नेपालीको मन अझ बढी पोलेको छ, यो यथार्थ हो । किनकी युरोप र अमेरिका पुगेका नेपाली मध्ये प्रायजसो त्यहिं बस्ने प्रवन्ध सहित गएका छन् । त्यसैले नेपालमा भारतले गरेको नाकावन्दीले तिनलाई जति अप्ठ्यारो पारेको छ, त्यो भन्दा कयौं गुणा बढी खाडी र मलेसियामा भएका नेपालीको परिवारलाई पारेको छ । उनीहरुका बृद्ध बाबुआमा र लालाबालालाई यता नेपालमा अत्यावश्यक सामान नपाएर हुने छटपटी खाडी र मलेसियामा हुनेहरुले बढी नै अनुभव गरिरहेका छन् । तसर्थ ति देशमा नेपालीले भारतीय हैकमवादको विरोध गर्न नसक्नु उनीहरुको वाध्यता हो । 

तर जहाँ अभिव्यक्त स्वतन्त्रता छ, त्यहाँ नेपालीले विरोध प्रदर्शन र ध्यानाकर्षण गराउन थालेका छन् । यसको केहि प्रभाव पनि देखिन थालेको संकेत छ । बेलायतमा नेपालीले भारतीय प्रधानमन्त्री मोदीलाई आच्छु आच्छु पारेलगत्तै नेपालमा भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्तिको मात्रा बढ्नु संयोग मात्र नहुन सक्छ । तर यसबारेमा अहिले नै निश्कर्ष निकाल्नु हतारो हुन्छ । 

हुन त विश्वजगत नेपालमा भारतले गरेको दादागिरीको विपक्षमा मुख खोलेर अहिलेसम्म बोलेकै छैन भन्दा हुन्छ । तर पनि नाकावन्दी कायमै राखिरहने ह्याउ भनें भारतको कमजोर हुँदै गएको छ । औषधी नपाएर मान्छे मरेका खवर आउन थाल्नु पक्कै पनि भारतीय शासकका लागि पनि सहज छैन । यसले विश्वमञ्चमा उसको शिर पक्कै झुकाउनेछ । अर्कातिर दृष्यमा नदेखिए पनि विभिन्न तहमा भइरहेका लेनदेनका छलफलले पनि नाकावन्दीलाई खुकुल्याउन भूमिका खेलेको अनुमान गर्न सकिन्छ ।   

यदि भारतले नाकावन्दी खोल्यो भनें के तराई मधेसमा जारी तीन महिनाभन्दा लामो आन्दोलन त्यसै सामसुम हुन्छ त ? अहिले खासगरी तराई मधेसमा देखिएको त्रास यहि हो । नयाँ संविधानले के कुरामा अन्याय ग¥यो भन्ने कुराको जड नसमाति अहिले पनि धेरै व्यक्ति आन्दोलित भएका छन् । यो कुरा उनीहरुले विस्तारै बुझ्दै गएका छन् र समयक्रममा अझ बुझ्दै जानेछन् । र, मुख्य कुरा मधेसमा आन्दोलन गरिरहेको नेतृत्व पनि अव विषयमा केन्द्रीकृत हुँदै गएको छ जसले निश्कर्षहीन वार्ताको क्रम केहि समयभित्र अन्त्य हुने अपेक्षा राख्न सकिन्छ । उनीहरुले उठाएका जायज माग पूरा हुनुपर्छ ।  

तर मुख्य कुरा हामीबीच कुनै समस्या छ भनें मिलाउने स्वयं नेपालीले नै हो । यसमा दक्षिण वा उत्तरको छिमेकी गुहार्नु प्रत्युत्पादक नै हुन्छ । हिजो अन्य दलहरुले खोजेको भारतीय हस्तक्षेपको साथसहयोग यसपटक मधेसवादी दलहरुले खोजेका हुन् जसको अन्त्य हुनै पर्छ । 

र, ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्नेहरुले मुलुकलाई अप्ठ्यारो परेको बेलामा आफ्नो दायित्व विर्सनु हुन्न । यसपटक त्यो दायित्व निभाउन केहि अलमल भएकै हो, जुन अहिले ठिक बाटोमा आइपुगेको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय