मलेसियाबाट मेडिकल फेल भएर फर्किंदा सघायो श्रीमतिले सुरु गरेको उद्यमले 

सुशीलादेवी चौधरी, रौतहट 

म गाउँकी सामान्य गृहिणी थिएँ । बच्चाहरु थिए । श्रीमान नेपालमा राजमिस्त्रीको कामबाट खासै आम्दानी नभएपछि मलेसिया जानुभएको थियो । त्यसैले खाना बनाउने, बच्चाहरुलाई विद्यालय पठाउने, घरव्यवहार चलाएर बसेकी थिएँ । फुर्सदको समय गाउँमा गफ गरेर वित्थ्यो । 

मेरो आफ्नै आम्दानीको कुनै बाटो थिएन । श्रीमान नेपालमा हुँदासम्म उहाँले नै कमाएर ल्याउनु हुन्थ्यो । मलेसिया गएपछि उताबाट कमाएर पठाएको पैसाले हाम्रो गुजारा चलिरहेको थियो । हामीलाई घर व्यवहार चलाउन सजिलो थिएन । 

मलेसियामा पनि श्रीमानको खासै राम्रो कमाई भइरहेको थिएन । त्यसैले उहाँले कमाएर पठाउने पैसा पनि धेरै हुँदैनथ्यो । बच्चाहरुले मागेका कापी, कलम किन्न पनि पैसा सधैं साथमा हुँदैनथ्यो  । त्यसैले दुःखपूर्वक नै जीवन चलिरहेको थियो ।  

म गाउँको महिला समुहमा आवद्ध थिएँ । समुहको बैठकमा मैैले हाम्रो गाउँमा कुखुरापालन सम्वन्धि निःशुल्क तालिम आउँदैछ भन्ने थाहा पाएँ । आफैं पनि केहि कमाउन सक्ने भइयो भनें छोराछोरीलाई राम्रोसँग पाल्न, पढाउन सकिन्छ भन्ने लाग्यो । यो कुरा मलेसियामा श्रीमानलाई भनें र आफू पनि तालिम लिन जाने बताएँ । उहाँले पनि राम्रो हुन्छ जाउ भन्नुभयो ।

मैले फारम भरें र छनौट पनि भएँ । त्यसपछि तालिम सुरु भयो । तालिममा हामीलाई कसरी खोर बनाउने ? कसरी चल्ला राख्ने ? कसरी त्यसको हेरविचार गर्ने ? दाना, औषधीलगायतका कुरा सिकाइयो । तालिम सकेपछि म कुखुरा पाल्ने निधोमा पुगें । 

श्रीमानले मलेसियाबाट २० हजार पठाइदिनुभयो । उहाँले पठाएको त्यो रकममध्येबाट १५ हजारको लागतमा खोर बनाएँ र सुरुमा १ सयवटा चल्ला हालें । पहिलो पटक भएको हुँदा खासै फाइदा चाहिं भएन । (हाँस्दै)त्यहि १५/ १६ सय भयो होला । तर पहिलो पटक घाटा नहुनु नै ठूलो कुरा थियो । पहिलोे लटबाट मैले धेरै कुरा सिकें । 

श्रीमान मलेसिया गएको एक बर्ष भएको थियो । उहाँ त्यहाँ मेडिकल फेल भएर नेपाल फर्किनु भयो । अनि दुईजना मिलेर यहि काम थाल्यौं । दोश्रोेपटक २ सय चल्ला हाल्यौं । त्यसबाट १२ हजार फाइदा भयो । तेश्रो लटमा त्यहि २ सय कुखुराबाट २० हजार फाइदा भयो र चौथो पटक त्यति नै कुखुराबाट ४० हजार फाइदा भयो । 

यसरी सिक्दै गएपछि आम्दानी पनि बढ्दै गएको छ । यसले आत्मविश्वास पनि बढेको छ । अव यसपटक पाँचौं लटमा २ सय ५० कुखुरा हालेका छौं हेरौं कति हुन्छ ?

अहिले दुईचार पैसाको कहिल्यै खाँचो परेको छैन । घर व्यवहार चलाउन सजिलो भएको छ । श्रीमान नेपाल फर्केपछि मैले तालिममा सिकेको कुरा सिकाएँ । हामी रायसल्लाह गरेर काम गरिरहेका छौं । अव अझ राम्रो हुन्छ भन्ने अपेक्षा छ । यसलाई बढाउँदै लैजाने योजानमा छौं । अव त एक लटमा ५-७ सय चल्ला हालेर पाल्न सकिन्छ भन्ने विश्वास बढेको छ । त्यतिगर्न सकेमा एकै लटमा एक लाखभन्दा बढी कमाई हुन्छ । बर्षमा ५ देखि ६ लट हाल्न सकिन्छ । त्यसैले कुखुराबाट राम्रो कमाई छ । 

श्रीमानले पनि नेपाल फर्केपछि राजमिस्त्रीको कामसँगै यो काम पनि गरिरहनु भएको छ । उहाँ विहान फर्ममा कुखुरालाई दानापानी दिने, सरसफाइको काम भ्याएर काममा जानुहुन्छ । म घरायसी काम सकेर दिउँसो यताको काममा जुट्छु । दुईतिरको कमाईका कारण अहिले हामीलाई आर्थिक रुपमा धेरै सजिलो भएको  छ । मैले गरिवि निवारण कोष अन्तर्गतको समुह, आमा समुह, फरवार्ड, डिप्रोक्स अनीअर्को एउटा महिला समुह सवैमा महिनामा १ सय देखि ५ सयसम्म बचत गरिरहेकी छु । 

छोराछोरीले राम्रोसँग पढ्न पाएका छन् । घरव्यवहार चलाउन सजिलो भएको छ । मैले तालिम लिएर यो काम नगरेको भए कहाँ यति सजिलो हुन्थ्यो होला र ? मलेसियाबाट फर्केपछि श्रीमानले राजमिस्त्रीको कामबाट गर्ने कमाईले सवै कुरा पुर्याउनु पथ्र्यो । त्यो धेरै गाह्रो थियो । त्यसैले मेरो यो कामबाट मेरो श्रीमान पनि धेरै खुसी हुनुहुन्छ । गाउँका मान्छे पनि अव फेरी तालिम आयो भनें आफू पनि तालिम लिएर कुखुरा पाल्ने भन्छन् । 

आफूसँग दुईपैसा भएपछि गाउँमा पनि इज्जत हुँदो रहेछ । कुनै अप्ठ्यारो परेर पैसा माग्न गयो भनें पनि केहि नभनि दिन्छन् । उनीहरुलाई पनि कुखुरा बेचेर पैसा दिन्छन् भन्ने हुँदो रहेछ । आफैं गरेमा हुँदा रहेछ भन्ने लागेको छ । हामीलाई त कुखुराले धेरै सजिलो बनाएको छ ।

(देशपरदेशका लागि सुनिल न्यौपानेले चौधरीसँग गरेको कुराकानीमा आधारित । चौधरी रोजगार कोषअन्तर्गत सन् २०१४को तालिम तथा रोजगारी कार्यक्रमकी लाभान्वित हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था सोडेक, सर्लाहीले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षामन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) 

भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”640″ height=”420″ src=”https://www.youtube.com/embed/Rc7SOIppQdM” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय