काठमाडौं : वैदेशिक रोजगारीमा जाने धेरै युवाको आफूखुसी ‘पेन किलर’ लगायत औषधि खाँदा मिर्गौला फेल हुने समस्या देखिएको छ। दैनिक १३ देखि १४ घन्टासम्म कडा काममा खट्ने उनीहरूले स्वास्थ्यमा सानोतिनो समस्या आए पनि ‘पेन किलर’ नै रोज्ने गरेको पाइएको छ। त्यसैले युवा उमेरमै मिर्गौला फेल हुने समस्याबाट ग्रसितको संख्या बढ्दै गएको चिकित्सक बताउँछन्।
वीर अस्पताल नेफ्रोलोजी विभागका प्रमुख मिर्गौला रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र अग्रवालले यसबारे विस्तृत अध्ययन हुन नसके पनि खाडी मुलुकबाट बिरामी परेर फर्केका बिरामीसँगको कुराकानीमा यस्तो पत्ता लागेको बताए। ‘चर्को घाममा काम गर्दा पसिना अत्यधिक बग्छ, अनि डिहाइड्रेसन हुन पुग्छ। कामको चापले उनीहरू पानी पनि पिउन बिर्संदा रहेछन्’, अग्रवालले भने, ‘बिरामी भए पनि काम गर्नैपर्ने बाध्यतामा ‘पेन किलर’ खाँदा रहेछन्, जुन मिर्गौला फेल बनाउने एउटा मुख्य कारण हो।’ उनका अनुसार गत महिना मिर्गौला फेल भएर मलेसियाबाट फर्किएपछि वीरमा उपचार गराउन आएका चारजना युवकले ‘पेन किलर’ को सहारा लिँदै काममा खटिने गरेको दु:खेसो गरेका थिए। चिकित्सकका अनुसार पर्याप्त पानी नपिउनाले पनि मिर्गौला फेल हुन्छ। कतार, मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्सलगायत अत्यधिक गर्मी मुलुकमा गएका नेपाली युवाले कडा काम गर्नुपर्ने बाध्यताले प्रशस्त पानी पिउनसमेत पाउँदैनन्। ‘विदेशमा काम गर्दा बिरामी भएर फर्किएका धेरैजनासँग घन्टौं परामर्श गरेको छु, उनीहरूको अवस्था दयनीय छ’, डा. अग्रवालले भने, ‘कामको चापले गर्दा न उनीहरूले प्रशस्त पानी पिउँछन् न, समयमै खान पाउँछन् न त पर्याप्त आराम गर्न पाउँछन्। परिणाम मिर्गौला फेल हुने समस्या देखिँदैछ।’ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका मिर्गौला शल्यचिकित्सक डा. पवन चालिसले वैदेशिक रोजगारमा जाने युवामा मिर्गौला फेल हुने समस्या हेर्दा सामान्य लागे पनि गम्भीर बन्दै गएको बताए। ‘गर्मी मुलुकमा पानी अभावमा कोकाकोला, बट्टामा बन्द गरिएका जुसलगायत पेय पदार्थ धेरै पिउने चलन छ, जसले छिट्टै मिर्गौलामा असर गर्छ। यहाँबाट गएका नेपाली युवाले पनि खाने त्यही हो’, चालिसेले भने, ‘जसले मिर्गौलालाई नोक्सान गर्न सघाउँछ।’ वैदेशिक रोजगारमा खटिने नेपाली युवालाई दैनिक १३ देखि १४ घन्टासम्म कडा काममा खटिनुपर्ने बाध्यता छ। चालिसेले भने, ‘सानोतिनो स्वास्थ्य समस्या देखिएपछि आराम गर्ने अवसर विरलै प्राप्त हुन्छ।’ करिब ३० लाख युवा रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्।
मिर्गौलामा लाग्ने रोगबाट यसरी बचौं
चिकित्सकहरूका अनुसार मिर्गौला रोगबाट बच्न प्रशस्त पानी खानुपर्छ। आफूखुसी औषधि सेवन गर्नुहुन्न। नियमित मिर्गौलाको परीक्षण गर्नुपर्छ। डा. पवन चालिसले भने, ‘कामका लागि बाहिर गएपछि उनीहरूको ध्यान पैसा कसरी कमाउने, घरको ऋण कसरी तिर्ने भन्नेमा मात्र जान्छ, त्यसैले उनीहरूले स्वास्थ्यको ख्याल गर्न बिर्सन्छन्।’ अर्का चिकित्सक राजेन्द्र अग्रवाल वैदेशिक रोजगारमा जानुभन्दा पहिले मिर्गौला परीक्षण गराउन सल्लाह दिन्छन्। ‘बाहिर जानेहरूको स्वास्थ्य जाँच नेपालमा जथाभाबी गरिन्छ। पैसाका लागि कतिपय स्वास्थ्य संस्थाले नै बिरामीमाथि छल गर्छन् भने कतिपय बिरामी आफैंले पनि विदेश जान नपाउने हो की भन्दै चिकित्सकलाई सबै कुरा भन्छन्’, उनले भने। अग्रवालका अनुसार खाडी मुलुकमा जाने युवालाई बचाउने हो भने सरकारले मिर्गौला जाँचका लागि पिसाब र रगतमात्र नभएर अल्ट्रासाउन्डसहितको स्तरीय जाँच सेवा उनीहरूलाई दिनुपर्छ। सुडानमा कार्यरत नेपाली चिकित्सक अमित भण्डारीले भने, ‘कामका लागि बिदेसिने धेरै युवामा जनचेतना छैन। प्रशस्त पानी पिउन सकेमात्र पनि धेरै समस्याबाट जोगिन सकिन्छ।’
अन्नपूर्ण पोष्टबाट
यो पनि पढ्नुहोस् हामी स्पोन्सर फेर्ने वा घर फर्किने सुविधा दिन्छौंः कतारी अधिकारी