कतारमा लाइसेन्समा कडाई गरिंदै

दोहा- दोहाका सडकमा फुत्त एउटा लेनबाट अर्को लेनमा छिरिरहेका र गलत ढंगले चलाइएका गाडीको संख्या धेरै देखिन्छ । यसको कारण के हो त ? के दोहाका चालक अटेरी भएका हुन् त ?

विभिन्न तालिम केन्द्रका प्रशिक्षकहरुको भनाई उधृत गर्दै दोहा न्यूज लेख्छ यसमा चालकले अटेरी गर्ने भन्दा पनि धेरैजसो प्रशिक्षार्थीले कक्षाकोठामा प्रशिक्षकले भनेको नै बुझ्दैनन् । किनकी यसरी कतारमा आएर गाडी चलाउने मध्ये धेरैजसो कतार बाहिरका हुने गर्दछन् जसलाई भाषाको समस्या हुन्छ । त्यसैले उनीहरुले कक्षाकोठामा भनिएका नियमका बारेमा बुझ्दैनन् ।

दोहा ड्राइभिङ एकेडेमीका प्रशिक्षण व्यवस्थापक हसन अव्दुल हाफिजले धेरैजसो आप्रवासी कामदारले सुरक्षित रुपमा कसरी गाडी चलाउने भन्ने कुरा नै नबुझ्ने समस्या भएको बताए । उनका अनुसार विभिन्न देशबाट आउने कामदारका कारण यो समस्या भएको हो ।

उनीहरुको देशमा भिन्न नियम हुन्छ, यहाँ भिन्न । त्यसैले उनीहरु राम्रोसँग कतारको नियम जान्दैनन् उनले भने । त्यसैले कतारमा चालक बन्न थप कडाई गरिनुपर्ने माग रहेको उनले बताए । हाल पनि कतारमा चालकको लाइसेन्स लिन निक्कै कडा परिक्षा पास गर्नुपर्छ । त्यसैले चालकको लाइसेन्समा धेरैपटक फेल हुनुपर्ने गरेको छ ।

चालकमा देखिएको यो समस्यालाई मध्यनजर गर्दै नयाँ पाठ्यक्रम चाँडै नै लागू गरिने समाचारमा जनाइएको छ । नयाँ पाठ्यक्रममा सडकमा अपनाउनु पर्ने सुरक्षालाई प्राथमिकताका साथ सिकाइनेछ । अल खेब्रा तालिम केन्द्रका व्यवस्थापक अल शेखका अनुसार विद्यार्थीलाई गाडीको सम्पूर्ण जानकारी सहितको पाठ्यक्रम बनाउने काम भइरहेको छ । त्यसका लागि हालको भन्दा बढी समय कक्षा लिनु पर्ने हुनसक्ने उनले बताए ।

कतारमा चालकको लाइसेन्स लिन कक्षामा भर्ना हुने मध्ये बहुसंख्यक आप्रवासी कामदार हुने गरेका छन् । कतारमा ८५ प्रतिशत भन्दा धेरै आप्रवासी कामदार रहेका कारण पनि यसो भएको हो ।

हाल कतारको नियम अनुसार सम्वन्धित देशको चालकको लाइसेन्स भएको व्यक्तिले १२ देखि २५ घण्टाको कक्षा कतारमा लिनु पर्ने व्यवस्था छ । सो कक्षा पछि परिक्षामा पास हुनुपर्दछ । तर आफ्नो देशमा गाडी जथाभावि चलाएको देखेका आप्रवासी कामदारहरुका लागि यो पर्याप्त नभएको तर्क समाचारमा गरिएको छ ।

कतारमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता हुन गइरहेका कारण निर्माणको क्रमम तिब्र छ । जसका कारण कतारमा चालकको माग पनि बढ्दो छ । पेनुन्सुएलाका अनुसार सन् २०१४ मा मात्र एक लाख नयाँ लाइसेन्स जारी गरिएको छ । जसअनुसार प्रतिमहिना ८ हजार ७ सयको दरले लाइसेन्स निकालिएको देखिन्छ जसमध्ये अधिकाँश आप्रवासी कामदार हुने गरेको तथ्याँक छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय