कोरियामा नेपाली कामदार कोही कमाउँदै, कसैलाई समस्या

दक्षिण कोरिया- विगत केही वर्षदेखि यता नेपालीहरुको लागि राम्रो रोजगारीको गन्तव्य मुलुक बनेको छ दक्षिण कोरिया । कोरियामा रोजगारी गरेर सुन्दर भविष्य बनाउने सपना साँंचेर थुप्रै नेपाली युवाहरु कोरिया आउने गरेका छन् । सन् २००८  बाट लागू भएको रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कोरिया भित्रिने कतिपय युवाहरु कृषिमा कार्यरत छन् ।

दक्षिण कोरियामा काम गर्ने प्रवासी कामदारहरुको मानव अधिकार हनन भएको समाचार केही समय अघि एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको थियो । जसमध्ये कृषि क्षेत्रमा काम गर्ने कामदारहरु बढी शोषित भएको एम्नेस्टीको रिपोर्टमा उल्लेख छ ।

एम्नेस्टीका अनुसार प्रवासी कामदारलाई वासस्थानको उचित प्रवन्ध नहुने, तोकिएको समय भन्दा बढी काम गराउने, महिनाको दुई दिनमात्र छुट्टी दिने तथा शारीरिक यातना समेत दिने गरेको पाइएको छ ।

शारीरिक यातना भन्दा पनि कम्पनीले कोरियन कामदार र प्रवासी कामदारबिच तलब र सार्वजनिक छुट्टीमा धेरै भेदभाव गर्ने गरेको छुङछङनाम्दोस्थित आसानको पोल्टीफार्ममा कार्यरत अजय साह बताउँंछन् । उनी भन्छन्, ‘काम गर्दा सानोतिनो कुरामा पनि साहुले कराउँछ ।’ अलिकति गल्ती भयो वा एक मिनेट ढिलो भयो भने पनि साहुले २० देखि ५० हजारसम्म तलव काटेर दिने गरेको उनको भनाइ छ ।

दशजना नेपालीसहित भियतनाम, चीन, कम्बोडिया र कोरियाका कामदार रहेको उक्त कम्पनीमा अजय दिनको १६ घण्टा खटेर काम गर्छन् । कुखुरा पालनदेखि अण्डा प्याकिङ गर्ने, गाडीमा लोड गर्ने जस्ता काम गर्दै आएका अजय तोकिएको समय भन्दा बढी काम गरेर महिनाको १६ लाख कोरियन वन कमाउँंछन् । भन्छन्, ओटी नगरे त पैसा नै बस्दैन आइतबार पनि काम गर्छु ।’

Korea Krishi 1सन् २०१० मा इपिएसबाट आएका रौतहटका अजय सुरुमा क्यङगिदोमा सागबारीमा काम गर्थे । साहुले धेरै काम लगाउने, छुट्टी नदिने गरेपछि उनी काम छाडेर हिंडेका थिए ।

अढाइ महिना काम गरेको तलव पनि साहुले दिएनन् । खाने बस्ने पैसा नभएर केहिदिन सडकमै बिताए । पछि अर्कै कम्पनीमा काम पाए ।

त्यहाँंको साहु भने साह्रै असल थिए तर पैसा कम भएकोले २० महिना काम गरेर साहुसँंगै सहमतिमा अर्को कम्पनी परिवर्तन गरेका उनी अहिले पुरानो कम्पनी छाडेकोमा पछुताउँछन् ।

कोरियामा सिकेको सिपलाई नेपालमा प्रयोग गर्ने सोच बनाएका अजय नेपाल फर्केपछि राम्रो वातावरण मिलेमा कृषिक्षेत्रमा लाग्ने बताउँंछन् ।

कोरिया आउने युवाहरुलाई समयको महत्व बुझेर मेहेनतका साथ काम गर्ने अनि पैसाको मुख हेरेर कम्पनी परिवर्तन नगर्न समेत उनी सुझाव दिन्छन् ।

विगत चारवर्षदेखि कोरियाको कृषि क्षेत्रमा काम गर्दै आएकी झापाकी चन्द्रकला सुब्बा पनि आफुले काम गरिरहेको कम्पनीका साहुले विदेशी र कोरियन कामदारबिच धेरै भेदभाव गर्ने गरेको बताउछिन् ।

त्यहि काम कोरियन महिलालाई सजिलो छ हामीलाई गाह्रो छ । दिनरात खट्नुपर्छ काम अनुसार तलब पनि कम छ’ उनी दुखेसो पोख्छिन् ।

नेपालमा हुँंदा कृषि सम्वन्धि खासै अनुभव नभएकी उनलाई सुरुमा कोरियामा १२ घण्टा खटेर काम गर्न धेरै गाह्रो भएको थियो । इपिएसबाट कोरिया आएकी उनी सुरुमा देजनस्थित कृषि कम्पनीमा साङछु (साग) टिप्ने काममा लागिन् ।

भाषाको अभाव र कामको अनभिज्ञताले केही समय काम गर्न निकै कठिन भयो । त्यहिमाथि जतिबेला पनि साहुले छिटोछिटो गर भनेर काममा जोताउदा नेपाल नै फर्कौं जस्तो लागेको थियो । त्यहाँं एकवर्ष काम गरेपछि उनी अर्को कम्पनीमा पुगिन् । गोलभेडामा काम ठिकै थियो । तर त्यहाँं पनि उनी धेरै समय टिकिराख्न सकिनन् अनि पुगिन् सोलस्थित अर्कै कृषि कम्पनीमा ।

तीनजना नेपाली कार्यरत उक्त कम्पनीमा फूल रोप्ने, गोड्ने, गाडीमा लोड गर्ने काम गर्दै आएकी चन्द्रकला पहिला काम गरेको कम्पनी भन्दा अहिलेकोमा काम गर्न झन् गाह्रो भएको स्वीकार्छिन् । उनी अगाडि थप्छिन्, ग्रीनहाउसभित्र बलको काम र दिमाग लगाएर गर्नुपर्ने काम भएकोले पनि शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ ।’

बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म काम गर्दै आएकी चन्द्रकलाको मासिक १२ लाख तलबमा ३६ हजार स्वास्थ्य विमाको लागि काटिन्छ । हरेक आइतबार कम्पनीले बिदा दिएपनि कोरियन चाडपर्वहरुमा भने एकदिन मात्र बिदा दिने गर्छ ।

यता काङवन्दोस्थित गोलभेडा खेती रहेको कृषि कम्पनीमा कार्यरत संगीता पौडेल भने काम गर्ने वातावरण राम्रो रहेको बताउछिन् । भन्छिन्, ‘साहु असल छन् आफ्नै घरको परिवार जस्तै व्यवहार गर्छन् । त्यसैले आफ्नै घरमा काम गरे जस्तो लाग्छ ।’

चारवर्षदेखि एकै ठाउँंमा काम गर्दै आएकी उनी सुरुमा भाषाको कारण काम गर्न गाह्रो भएको थियो । गर्दै जांँदा अहिले त्यहि काम सजिलो लाग्न थालेको छ । काम रेखदेख गर्ने जिम्मेवारी समेत दिएका छन् साहुले उनलाई । धैर्यताकासाथ इमान्दार भएर एकै ठाउँंमा काम गरे साहुको विश्वास जितिने र काम गर्न सहज हुने उनको भनाइ छ ।

ग्रीन हाउसभित्र काम गर्दा अनि कम्पनीले दिएको कोठामा हरेक सुविधा भएकोले कुनै समस्या नभएको संगीता बताउँछिन् । मासिक १४ लाख तलब थाप्ने संगीता गोलभेडाको सिजनमा १०, ११ घण्टासम्म काम गरेपनि अरुबेला साढे सात घण्टा मात्र काम गर्ने बताउँंछिन् । केही कोरियन कामदारसहित कम्बोडियन र तीनजना नेपाली कार्यरत छन् । साहु राम्रो भएकोले पारिवारिक वातावरणमा काम गर्दा गाह्रो काम पनि सजिलै लाग्ने उनको बुझाइ छ ।

माइती ताप्लेजुङ र तनहुँं घर भएकी संगीता नेपाल फर्केपछि आफुले सिकेको सिपलाई आफ्नै भूमिमा सदुपयोग गर्ने सोचाइ बनाएकी छिन् । श्रीमान पनि काठमाडौंमा कृषि विभागको अफिसर भएकोले आफुले सिकेको ज्ञानलाई सहि ठाउँंमा सदुपयोग गर्न सकिनेमा विश्वस्त छिन् । भन्छिन्, ‘कृषक नै बन्नुपर्छ भन्ने छैन । बेरोजगार दिदीबहिनीहरुलाई कृषिसम्वन्धि तालिम दिएर जनचेतना जगाउने काम गर्न सके पनि धेरै ठुलो हो ।’

त्यसैगरी देजनस्थित नुनसानमा रहेको कृषि कम्पनीमा कार्यरत सोलुखुम्बुकी रमिला राई दुई वर्षदेखि साङछु (साग) टिप्ने काम गर्दै आएकी छिन् । अरु जस्तै उनलाई पनि सुरुमा आउदा भाषाको कारण काम गर्न गाह्रो भएको थियो । ‘साहु त्यति खराब छैन पहिला त काम गर्दा पालीपाली (छिटोछिटो) भन्थे अहिले त भन्दैन । आफुले सक्ने काम गर्ने हो,’ उनी सुनाउछिन् ।

दैनिक १० घण्टा काम गर्नुपर्ने उक्त कम्पनीमा सागको सिजनमा भने बढी नै खट्नुपर्ने रमिलाको भनाइ छ । महिनामा दुई दिनमात्र छुट्टी पाउने रमिलाले मासिक १३ लाख ५० हजार तलब लिन्छिन् । सोलुखुम्बुकै एकजना साथीसँंग कम्पनीमै बस्दै आएका उनीहरुलाई कम्पनीले चामल र पकाउने ग्यास मात्र दिने गर्छ । विदेशी कामदार भनेर साहुले कहिल्यै भेदभाव नगरेको रमिला बताउँंछिन् ।

बाला राई,परदेशी लाईफ डट कम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय