जवानी बित्यो परदेशमा, घर फर्केपछि भयो कमाई
अछाम:  पूर्ण कुँवरले एक जमानामा साझा प्रकाशनमा जागिरसमेत गरे । जागिर बीचमै छुट्यो र नोकरी गर्न छिमेकी मुलुक भारत हानिए । जीवनको उर्जावान समय करिव २० बर्ष भारतका बिभिन्न शहरमा चौकीदारी गर्दैमा बिताएका साँफेवगर नगरपालिका–६ का ५२ वर्षीय कुँवरको जीवनमा भारतको चौकीदारीबाट खासै प्रगति हुन सकेन ।
भारतको चौकीदारीमै जीवन बिते पनि खासै प्रगति हुन नसके पछि घर फर्किएका कुँवरले गाउँका अरु किसानले छोड्दै गएको पशुपालन व्यवसाय अंगालेका छन् । कुँवरले करिव डेढ बर्ष देखि उन्नत जातको गाई पालन व्यवसाय शुरु गरेका छन् ।

साथै उनले गाउँमै व्यवसायीक रुपमा तरकारी खेती पनि सुरु गरेका छन् । ‘फुर्तिलो जवानी बम्बैमा सेठको गाली खाँदै चौकीदारी गर्दा वित्यो तर, दुई छाक खानु वाहेक अरु प्रगति गर्न सकिएन’ कुँवरले भने–‘अब जे गरे पनि आफ्नै जन्मथलोमा गर्नुपर्छ भन्ने सोचेर गाई पालन व्यवसाय शुरु गरेको हुँ ।’
कुँवरका अहिले एउटा साँढे, चार वटा बाच्छी र चार गाई गरी नौ गाई रहेका छन् । शुरुमा आफ्नो जमिनको लालपुर्जा बैंकमा राखेर तीन लाख रुपैँया ऋण लिई गाई पालन व्यावसाय शुरु गरेको कुँवर सुनाए ।
उनीसँग भएका सबै गाई उन्नत जातको हुन् । जिल्ला पशुसेवा कार्यालयले गाई ढुवानीको खर्च व्यहोरेको हो । उनको छ जनाको स–परिवार आज भोली दिनभर गाईको घाँस, पराल, पानी खुवाउन तथा गोबर सोर्नमै व्यवस्त हुन्छ ।
बम्बैमा नोकरी गर्दा पनि परिवारको लालनपालन गर्न नपुगेर पैतृक सम्पतिका खेतहरु भोग बन्धकीमा विक्री गरेका कुँवरले यहि व्यवसायबाट एक खेत भोग बन्धकीबाट फिर्ता गरि सकेको र अरु खेत पनि विस्तारै फिर्ता गर्ने आशा पलाएको सुनाए ।
उनले हाल आफ्नो गाईबाट दैनिक १५ लिटर दुध उत्पादन भइरहेको र केहि महिना मै अन्य दुई गाई व्याएमा प्रसस्त दुध उत्पादन हुने आशा पनि व्यक्त गरे ।
हालै उनले साँफेबगरमा डेरीसमेत स्थापना गरी आफ्नो गाईबाट उत्पादित दुध तथा अरुबाट संकलन गरेको दुध विक्रि गरिरहेका छन् ।
उनको आम्दानीमा तरकारी खेतीले थप इट्टा थपेको छ ।
उनले धेरै पछि मात्र आफूलाई पशुपालन व्यवसाय र तरकारी खेती गर्ने बारेमा सोच पलाएको बताए ।
‘आफूलाई समयमै यस्तो सोच पलाएको भए धेरै अगाडी बढिसक्ने थिए’ उनले भने–‘बुढेसकाल लाग्नै लाग्दा सोच आए पनि यो व्यवसाय राम्रैसँग चलाउछु ।’ सुरुमा बुढेसकालमा गाईको गोबर सोर्न के गलत बुद्धि आयो हो भन्नेहरु अहिले स्याबासी दिने गरेको उनले सुनाए ।
जिल्ला पशुसेवा कार्यालय अछामका प्राविधिक झनक ढुंगानाले कुँवरले संचालन गरेको गाई फर्म निकै राम्रो र जिल्लामै उदाहरणीय भएको बताए । उनले कुँवरको देखेर जिल्लामा अरुले पनि गाई पालन व्यवसाय गर्न अरु पनि इच्छुक देखिएको जानकारी दिए ।

अन्नपूर्ण पोष्टबाट
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय