काठमाडौं, नेपालीको मुख्य रोजगार गन्तव्य मलेसियामा उच्च पद र पारिश्रमिकमा काम गर्ने नेपाली पनि निक्कै छन् । एक दशकयता मलाकाको डिसिएस कम्पनीमा कार्यरत धरानका विकास शाक्य मासिक लाख रुपैंयाँ भन्दा धेरै कमाउँछन् ।
कम्पनीको गुणस्तर नियन्त्रण विभागमा सुपरभाइजर पदमा कार्यरत शाक्य थोरै लगानीमा राम्रो पारिश्रमिक पाउन मलेसिया उचित गन्तव्य भएको बताउँछन् । “यहाँ ९ सय रिंगिटबाट तलब सुरु हुन्छ । धैर्य गरेर एउटै कम्पनीमा बस्न सक्नुपर्छ, केहि बर्षमै लाख रुपैंयाँ भन्दा धेरै कमाउन सकिन्छ” उनले भने ।
स्वदेशी र मलेसियन एजेन्टले फरक तलब र कम्पनीमा पारिदिंदा कामदार त्यस्तो कम्पनी छोडेर भाग्न बाध्य हुन्छन् । कम्पनी छोडेर गैरकानूनी हुने भएकाले प्रहरीले पक्राउ गरी स्वदेश फर्काइदिन्छ ।
कामदारले जस्तो भएपनि आफू गएको कम्पनी छाड्न नहुने मलेसियामै १० बर्षदेखि कार्यरत भोजपुरका प्रेमकुमार कार्की बताउँछन् । “कम्पनी छोडेर भागेपछि आफू अवैधानिक भइन्छ र उजुर गर्ने ठाउँ बाँकी रहँदैन” उनी भन्छन् । कार्की मलेसियाकै क्याम्वेल सुप कम्पनीमा काम गर्छन् । उनले तलब र भत्ता गरेर महिनामा एक लाख कमाइ हुने बताए ।
नेपालीका लागि मलेसियामा अवसर धेरै रहेको उनी दावी गर्छन् । “धैर्यमात्र हुनुपर्छ, युरोप बरावरको कमाई मलेसियामा नै छ” उनले भने “पहिला म अपरेटरको थिएँ, अहिले लाइन म्यानेजमेण्ट गर्छु । कामदारको ड्युटी मिलाउनेसम्मको जिम्मेवारी हुन्छ । कामदार भिसामा आएकाले यो भन्दा कति बढी खोज्नु ? ”
कम्पनीको पृष्ठभूमि नै नबुझि आएकाले भनें दुुःख पाएको उनको भनाइ छ । म्यानपावर र आफू काम गर्न आउने कम्पनीका बारेमा सामान्य रुपमा बुझ्न सकिन्छ तर त्यतापट्टी ध्यान नदिंदा दलालले फसाइदिन्छन् उनले भने ।
नवलपरासी कावासोतीका तुलबहादुर पुर्जामगर पनि कार्की झैं सोही कम्पनीमा काम गर्छन् । मगरले पनि मासिक लाख रुपैंयाँ नै कमाउँछन् । धेरै नेपालीले कम्पनी छोड्ने र भाग्ने गरेकाले समस्या भएजस्तो देखिएपनि काम गर्दै गए राम्रो हुने उनी बताउँछन् । सामान्य अंग्रेजी बोल्न सकेमा अझ धेरै राम्रो हुन्छ उनी भन्छन् ।
मलेसिया जाँदा ८० हजार भन्दा धेरै लिन नपाइने नियम भएपनि म्यानपावर कम्पनीहरुले डेढलाखसम्म असुलिरहेका छन् । चालु आर्थिक बर्षको असोजसम्ममा ५७ हजार सातसय ९६ जना नेपाली कामदार मलेसिया गएका छन् । यसमा १ हजार ६ सय ७० जना महिला रहेको वैदेशिक रोजगार विभागको तथ्याँक छ ।
यो समाचार नागरिक दैनिकमा प्रकटकुमार शिशिरले लेखेका छन्