श्रीमान् मलेसियामा, श्रीमति बेल्चासँग खेल्दै

श्रीमान् मलेसियामा छन् । कमाउन भनेर ऋनपान गरी मलेसिया हान्निएका उनी उतै भासिए । न घर फिरेकै छन् न पैसा नै पठाउँछन् । त्यसैले चारवटी छोरी सहित आफू पालिने र घर व्यवहार धान्ने जिम्मेवारी उनकै काँधमा छ ।

उनी अर्थात झापाकी रमिला ठकुरी । श्रीमान् दिपक परिवारको खुसीको मेलो मिलाउन भन्दै मलेसिया गएको ९ बर्ष बित्यो । ठकुरी परिवारको नाममा जमिनको एक टुक्रो छैन । त्यसैले रमिलाको ज्याला मजदुरीले नै छाक टर्दैछ, केटाकेटी हुर्किंदैछन् ।

महिना, दुई महिनामा जोेइपोईबीचमा फोनमा कुराकानी हुन्छ । बर्षमा ५/१० हजार घर पठाउँछन् । ‘कमाई नहुने ठाउँमा परें, घर पैसा पठाउन सक्दिन’ दिपकले जहिल्यै दिने जवाफ यहि हो । घरमा चारवटी छोरी सहित खाने ५ मुख छन् । त्यसैले जीवन सुविस्ताको छैन रमिलाको ।

श्रीमान् परदेशिएपछि रमिलाका दिन अझ कष्टपूर्ण भएका छन् । परदेशको कमाईको आश नभएपछि दुःखजिलोे गर्नै पर्यो । त्यसैले विहान ४ बजे नै सुरु हुन्छ रमिलाको दैनिकी । निर्माण श्रमिकका रुपमा काम गर्ने उनी दिनभरी गिट्टी बालुवा बोक्छिन्, सिमेण्ट मुच्छिन् र दैनिक गुजारा चलाउँछिन् ।

छोरी सानै छन् । त्यसैले काममा हिंड्नुु अघि नै भातभान्साको चाँजोपाँजो मिलाइदिनुपर्छ । “पकायो, तुल्यायो, छोरीहरुलाई राखिदिएर आफ्नो खाना बोकेर ८ बज्दा हिंडिससक्नुपर्छ” उनले भनिन् । बेलुका कामबाट फर्किदा ५/६ बजिहाल्छ । फर्केपछि फेरी उहि घरधन्दाको काम । बेलुकाको खाना खाइसक्दा ८ बजिहाल्छ ।

“दुःख थियो, केहि कमाई होला, अलिक सुविस्ताको जीवन होला भन्ने लागेर ६५ हजार ऋण गरेर पठाएँ, अहिले अझ धेरै दुःख थपिएको छ” रमिलाले भनिन् ।

दिपक मलेसिया पुगेको बर्षदिन जति ठिकै थिए । पैसा पठाउँदै थिए । ऋण पनि तिरियो । तर त्यसपछि बिरामी भएँ भनेर खवर पठाए । कम्पनी पनि छुटेको कुरा गरे । अनी पैसा आउने क्रम पनि पातलिंदै गयो ।

“अवस्था कमजोर भएर सपार्छु भनेर जानु भएको थियो, त्यो भन्दा कमजोर पो भइयो” रमिलाको दुखेसो छ । उनी भन्छिन् –चारआना दाम छैन, उठेर जा भने जाने ठाउँ बाहेक केहि छैन ।

रुँदै हिंड्नु भएन, मर्नु भन्दा बहुलाउनु निको भनेजस्तै भएको छ जिन्दगी । जे भएको छ, त्यो त आफ्नै मनमा छ नी– उनी भन्छिन् । हप्तामा १८ सय जति कमाउँछिन् उनी । महिनाभरी काम गर्न सक्दा ५ देखि ६ हजार हुन्छ । त्यसैले परिवारको खान्कि, लत्ताकपडा चल्छ । तर कहिले बच्चा बिरामी हुन्छन् त कहिले आफैं बिरामी परिन्छ त्यसैले सधैं काम गर्न जान पाइन्न ।

“नुनतेल किन्नै पर्यो, दालचामल चाहियो, खर्चै गर्नु हो भनें त १० हजारले पनि महिना धान्दैन” उनी हिसाव लाउँदै गइन् “तर गरिवको घर जसरी पनि चल्दो रै’छ ।”

५० किलो चामल लाग्छ महिनामा । पैसा हातमा भएको बेलामा चामल किनेर राखेपछि उनलाई एउटा ठूलो संकट टरेझैं लाग्छ । “घ्याप्प चामल किनेर ल्याएका दिन जति सन्तोष मनमा अरु दिन हुन्न” उनी भन्छिन् ।

केटाकेटीका रहर आफ्नै हुन्छन् । नयाँ लुगा, मिठो खानेकुराका चाह राखिहाल्छन् । त्यसमा भनें हम्मे हम्मे नै पर्छ उनलाई ।

सँगैमा छरछिमेकबाट विदेश गएकाहरुले बेला बेलामा पैसा पठाउँछन्, तर आफ्ना श्रीमान्ले पैसा पठाउन नसकेको देख्दा उनी पनि छक्क छन् । यसमा उनी भाग्यलाई नै अघि सार्छिन् ।

बेला–बेलामा फोन गर्छन् श्रीमान्ले मलेसियाबाट । कमाउनु भएन, दुःख मात्रै दिनुभयो भनेर गुनासो गर्छिन् उनी । कमाउन सकिन त के गरौं भनेर टार्छन उनी । अनी महिना दुईमहिनाका लागि आफ्नै सुसेधन्दा सुरु हुन्छ ।

अव त छोराछोरीले पनि बाबुको अनुहार बिर्सिसके । ‘खै चिन्दैनन् होला, हामीले त बुवाको अनुहार बिर्सियौं भन्छन्, म नभएको बेलामा आउनु भयो भनें के थाहा चिन्दैनन् की’ उनी भन्छिन् ।

तारा शर्मा, झापा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय